कानून विपरीत विदेश पठाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाण्डौ, १० जेठ ।  वैदेशिक रोजगार विभागले कानून विपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारीमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवम् आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि नागरिकलाई आग्रहसमेत गरेको छ ।

व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरूले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात सङ्कलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागले जनाएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानूनी प्रावधान छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया