दाङमा यस वर्ष वर्षे मकै खेती गर्ने क्षेत्रफल बढ्ने अनुमान

तुलसीपुर, ८ जेठ । वर्षको पहिलो बालीका रुपमा मकैलाई लिइन्छ । नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ । अहिले यही बर्षे मकै छर्ने समय भएको छ । किसानहरुले कतै मकै छरिसकेका छन् भने कतै मकै छर्ने क्रममा छन् । दाङमा यस वर्ष वर्षे मकै खेती गर्ने क्षेत्रफल बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रको तथ्याँकले देखाउँछ । समयमा नै पानी परेकाले यस वर्ष मकै खेती गर्ने क्षेत्रफल बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।

गत वर्ष भन्दा यस वर्ष १ सय ५ हेक्टर क्षेत्रफल बढ्ने अनुमान गरिएको हो । यस वर्ष १७ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा मकै खेती हुने अनुमान गरिएको छ भने गतवर्ष भने १७ हजार ५ सय १० हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो । दाङमा वर्षे मकै लगाउने उपयुक्त समय जेठ महिना नै रहेको अर्थविज्ञ लामिछानेले बताउनुभयो । जिल्लाको शान्तिनगर, बबई गाउँपालिकामा बर्षे मकै बढी हुने गरेको छ । तर बसन्ते मकै देउखुरी क्षेत्रमा बढी हुने गर्दछ ।

मकैमा गबारो किरा किन लाग्छ ? कसरी बचाउन सकिन्छ ?
प्रांगारिक मल प्रयोग गर्ने नाममा काँचो मल अर्थात नकुहिएको पातपतिङगर, गाइगोरुको मल हाल्दा मकैमा गबारो किरा लाग्ने गरेको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । ‘अर्को कारणमा एक दिन पानी पर्ने अर्को दिन फेरी बेस्सरी घाम लाग्ने भयो भने मौसममा घामपानी घामपानी भएमा जग्गा सुख्खा हुन जान्छ र गबारो किला लाग्ने सम्भावना रहन्छ ।’ उहाँले भन्नुभयो– ‘गबारो किराको प्रकोपबाट बचाउन अपनाउने प्रक्रिया विधि भनेको काचो अर्थात नकुहिएको मल प्रयोग नगर्ने नै हो । अर्को मौसममा भर पर्ने भएकाले मौसमलाई त कसले पो बदल्न सक्छ र अनि मकैलाई बचाउन सकिन्छ । त्यो त कुरै भएन । किसानले अपनाउने एउटा मात्रै उपाय हो । काँचो मलको प्रयोग नगर्ने ।’

अहिलेको मौसम घामपानी घामपानीको हुन्छ । आज पानी पर्यो भने भोली बेस्सरी घाम लाग्दिन्छ । जसले गर्दा किराहरु जन्मिन्छन् । जमिनमा तिस्यानको मात्रा बढी भयो भने किराहरु जन्मिन पाउँदैन । त्यसले पनि गबारो किरालाई मौसमले नियन्त्रण गर्न सक्छ । यसमा मौसममै भर पर्छ । मकै छरेपछि ३।४ दिन पानी नपर्ने मकै उमे्रपछि बल्ल पानी पर्ने भयो भने पनि गबारो किराले सताउन सक्दैन । मकै छरेको दिनबाटै पानी पर्ने हो भने मकैको माथिबाट पानी र माटो जम्छ अनि मकैै राम्रोसँग उम्रिन पाउँदैन । उम्रिन नपाउँदा माटो भित्रैबाट मकै निस्किदा किराले खाएको उम्रिने अथवा कुनै मकै उम्रिदै नउम्रिने समस्या हुने गर्दछ । यो सबै मौसममा भर पर्ने भएकाले किसानहरुले मौसम हेरेर मकै छर्नुपर्ने हुन्छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया