
तुलसीपुर, ६ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई सहिद नेत्रलाल अभागीको विचारबाट डो¥याउन आवश्यक रहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१ औँ स्मृति दिवस कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
दाङको शिक्षा क्षेत्रको विकास र विस्तार गर्न अभागीको भूमिका महत्वपूर्ण रहेको उहाँले चर्चा गर्नु भयो । पञ्चायतकालमा कोही पनि विद्यालय जान नपाउने अवस्थामा आफैँ विद्यालय स्थापना गरेर घरघरमा गइ विद्यार्थी र अभिभावकलाई सम्झाई बुझाई पढ्नु पर्छ भनेर विद्यालयमा ल्याएर पढाउने काम नेत्रलाल अभागीले गर्नुभएको कर्मप्रतिको उच्च सम्मान गर्दै शिक्षामा आएको परिवर्तनको चर्च गर्नुभयो । सहिद नेत्रलाल अभागी साहित्यकार, शिक्षकका रुपमा समेत परिचित रहेको र उहाँकै नामबाट जिल्लामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेत्रलाल प्रावि, घोराही उपमहानगरपालिकामा नेत्रलाल रङ्शाला र सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको महासचिव पोख्रेलले बताउनुभयो ।
पञ्चायतमा मानिसको बाँच्ने आयु ५४ वर्ष र अहिलेको आयु ७२ वर्ष हुनु, पञ्चायतमा ४४ प्रतिशत घरधुरी खानेपानीको पहँुचमा रहेकोमा अहिले ९७ प्रतिशतमा पुग्नु, सडकको अवस्था लगायत थुप्रै विकास भएको कुराहरुलाई तथ्यगत आधारमा तुलना गर्न सक्नु पर्ने बताउनुभयो । तथ्यको जगमा रहेर तुलना गरेर बोल्न नसकेमा समाजलाई अगाडि बढाउन समस्या हुने उहाँको भनाइ थियो । पञ्चायतका किसानको अवस्था र अहिलेको अवस्थामा तुलना गर्नुपर्ने बताउनु भयो । ‘त्यो वेला र अहिलेको अवस्था, व्यवस्था विचको तुलना गरेर भिन्नता छुट्याउन किन सक्दैनौँ, त्यही त हाम्रो कमजोरी हो । संघीयताले के ल्यायो? नयाँ संविधानले के परिवर्तन ल्यायो? यसमा हामीले फरक छुट्याउन नसक्दा एमालेमाथि प्रश्न गर्ने अवस्था सिर्जना भएको छ ।’ उहाँले भन्नुभयो ।
उहाँले फरक प्रसंगमा मानिस सामाजिक प्राणी भएकाले असल बानी व्यवहार बनाउन सुझाव दिनुभयो । असर बानी व्यवहार नभएको व्यक्त सामाजिक प्राणी बन्न नसक्ने उहाँको भनाइ थियो । उहाँले मोवाइल हेर्ने प्रवृतिले किताव पढ्ने वानी छोडिसकेको बताउनुभयो । यही मोवाइल प्रवृति हावी भएकाले हाम्रो चेतना हराउन थालेको भन्दै पुराना कुराहरु स्मरण गर्न नसक्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । सही र सत्य कुरा मोवाइलबाट सिकेर व्यक्ति, समाज र देश परिवर्तन गर्न सकिने भएकाले सही र असल कुराहरु मात्रै ग्रहण गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा कार्यक्रमलाई एमालेका पोलिट्ब्यूरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरीले लगायतले सम्बोधन गर्नु भएको थियो । एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव श्याम डाँगीले गर्नु भएको थियो ।।