
दाङ, १३ बैशाख । नेपाल रेडक्रसका केन्द्रिय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान नारायण आचार्यको निधन भएको ६ दिन पछि श्रीमती भगवती शर्माको किरिया बसेकै अवस्थामा आज बिहान निधन भएको हो । गएराति ११ बजे जीवनजल पानी खाएर सुत्नु भएकी शर्मालाई बिहान उठाउने बेला न उठेपछि तत्काल राप्ती लाइफ कियर हस्पिटलमा लगिएको थियो ।
अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको विनोद शर्माले जानकारी दिनुभयो । भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोल रोगबाट पिडित हुनुहुन्थ्यो । श्रीमानको किरियामा बस्नुभएकी शर्माको असामयिक निधनले सिङ्गो आचार्य परिवारमा थप पीडा थपिएको छ ।
शर्मा पनि एक दशक देखि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गर्दै आउनु भएको थियो । शर्माको आजै राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि शितलपुर घाटमा अन्त्येष्टि गर्ने तयारी रहेको आफन्त विनोद शर्माले जानकारी दिनुभयो । यस अघि उहाँका श्रीमान नारायण आचार्यको गोली लागेर मृत्यु भएको थियो । घरमै रहेको १२ बोर बन्दुकले आफै गोली हानेर सुसाइट गरेको प्रहरीको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । उहाँहरु दाङको तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुरमा बस्दै आउनु भएको थियो ।