आज विश्व पानी दिवस: संसारमा २.५ प्रतिशतमात्र पानी पिउन योग्य

काठमाण्डौँ, ९ चैत । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेकाले यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको हो । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी पहल हो ।

 

बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका विभिन्न कारणले पानी सङ्कट उत्पन्न भइरहेको अवस्थामा यो दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नूनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्दैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तर्रराष्ट्रिय पानी व्यवस्थापन संस्थाकाअनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ । संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया