काठमाडौं २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दुईदिन देखि जारी राजनीतिक समितिको बैठकले शनिबार दुवै विधान पारित गर्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजेका लागि बोलाइएको छ । राजपाले बैशाख पहिलो साता हुने महाधिवेशनका निम्ति विधान संशोधन प्रस्ताव आज पारित गर्ने भएको हो ।
हिजो बसेको २७ सदस्यीय समितिको बैठकमा १५ सदस्यले बोल्दै प्रस्तावित विधानमाथि आफ्नो धारणा राखेका थिए । राजपाको अघिल्लो बैठकले वैशाख पहिलो साता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि विधान संशोधन गर्न राजपाले तयारी थालेको हो ।
बैठकमा संसदीय दलको नेतासम्बन्धी विधानको मस्यौदा पनि आजै पारित गर्ने तयारी रहेको राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।
महाधिवेशन कहाँ गर्ने, त्यसका लागि स्थानीय निकायमा अधिवेशन कसरी गराउनेलगायत विषयमा बैठकमा छलफल भईरहेको नेता यादवले जानकारी दिनुभयो । राजपामा संसदीय दलको नेताका निम्ति अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोले छुट्टा–छुट्टै लबिङ गरिरहेका छन् ।
संसदीय दलको नेता चयन पश्चातः अध्यक्ष बन्ने पक्कापक्की हुने भएकै कारण दुवै अध्यक्षबीच तीव्र लविङ चलिरहेको स्रोतले बताएको छ । राजपाले भने अध्यक्षको प्रत्यासी बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।