सरकारविरुद्ध उत्रियो कांग्रेस : राष्ट्रियसभा अवरोध, मण्डलामा प्रदर्शन

दाङ,२१ असार ।प्रमुख विपक्षी दल नेपाली कांग्रेस एकाएक सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।विपक्षीको भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका बेला कांग्रेस सदन र सडकमा एकसाथ आक्रमक बनेको हो ।कांग्रेसले चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्दा बनाएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ भने माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संसदीय दलको बैठकको निर्णयअनुसार कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक स्थलमा प्रदर्शन गर्न रोकेर सरकार पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाए ।

‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुन्थेन’ उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७५ असार २१ गते बिहिवार
प्रतिक्रिया