ओपेन्द्र बस्नेत
तुलसीपुर, १९ असाढ / सयौंको संख्यामा आएका किसानहरुले तुलसीपुरको न्युरोड स्थित गौरीगाउँको कूलोमाथि लगाएको सल्याप डोजर लगाएर फोरी दिएका छन् । बजारबासीले कुलोमा फालेको विभिन्न खाले फोहर खेतमा जाँदा खनजोत गर्न कठिनाई हुनुका साथै उत्पादनमा समेत कमी भएको उनिहरुले बताएका छन् ।
‘ काँचका सिसा, टालाटुली, पालष्टिक, विस्कुट, चाउ–चाउ , सूर्तिका खोल, मरेका पशुपंक्षी, हड्डी, सडेगलेका बस्तुहरु कुलोमा फाल्छन,’ किसान सरदेव चौंधरीले भन्नुभयो , ‘ खेतमा गएर हामीलाई खनजोत गर्न धौ हुन्छ त्यै भएर फोडिदिएका हौ ।’
कुलोमा सल्याप लगाउदा कुलो सरसफाई गर्न नपाईने र विभिन्न खाले फोहर बगाईदिने भएकाले कुलो ढाकेर बनाएका सबै खाले संरचना भत्काईदिने उनिहरुले बताएका छन् । किसानहरुले बाढी आउँदा नियन्त्रण गर्नका लागि कुलामा बनाएको गेटभल्ब समेत तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका घेराउ
यता तुलसीपुरको न्युरोडका टोलबासीले समस्याको समाधन गर्नुे पर्ने भन्दै तुलसीपुर उपमहानगरपालिका बेलुकीपख दबाब स्वरुप घेराउ गरेका थिए । विगत लामो समय देखि कीसानहरु आएर सल्याप तोडफोड गर्ने, मान्छेहरुलाई आतंकीत पार्ने गरेको भन्दै समस्याको विन्दु पहिल्याउन आग्रह गरेका थिए ।
दुधे बच्चा समेत लिएर करिब एक सयको संख्यामा गएका महिलाहरुले होहल्ला गर्दा उपमहानगरपालिकाको सभाहलमा चलिरहेको कार्यपालिका बैठक केहिबेर अबरुद्ध भएको थियो । डोजर लिएर आएका किसानहरुले कुलामा लगाएको सल्याप फोड्नुका साथै महिलाहरुलाई गालीब्यजति गरेको पाँच नम्बर वडाका कार्यबहाक अध्यक्ष सावित्रा गुरुङले बताउनुभयो । किसानहरु एकतर्फी रुपमा आएर बिना जानकारी तोडफोडमा सत्रीएको काव अध्यक्ष गुरुङले बताउनुभयो ।
नगरपालिकामा मेयर र टोलबासी बिच बुधबार विहान सात बजे बैठक बस्ने सहमति भएको न्युरोड टोलका अध्यक्ष सुरेन्द्रबिक्रम चन्दले जानकारी दिनुभयो ।
भिडियोको लागि तल क्लिक गर्नुहोस ।