यातायात मन्त्री न्यौपाने जोगाए तुलसीपुर महोत्सवको इज्जत 

दाङ, १ फागनु ।  लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले तुलसीपुर महोत्सवको इज्जत जोगाइदिनु भएको छ ।  तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तुलसीपुरमा आजदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्‌घाटन गर्न संघिय सरकारका उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नआएपछि लुम्बिनी प्रदेशका यातायातमन्त्री न्यौपानेले मेलाको उद्‌घाटन गरेर इज्जत बचाई दिनुभएको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार संघिय सरकारका उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवको उद्‌घाटन गर्ने कार्य तालिका थियो । उद्योगमन्त्री भण्डारीले  आयोजक तुलसीपुर चेम्बरलाई दाङ आउन नसक्ने बताएपछि हतारहतारमा न्यौपानेलाई मेलाको उद्‌घाटन गर्न बोलाइएको थियो ।  

‘तुलसीपुरमा मेयर स्वयम् हुनुहुन्छ । मेयर मन नपरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरू पनि छन् । तुलसीपुरको महोत्सवको उदघाटन गर्न किन संघिय मन्त्री ल्याउनुपर्ने ? आखिर अन्तिममा आएर लाज ढाक्नका लागि त  यहाँकै मन्त्री चाहिने रहेछ । किन नाटक गर्नु परेको ।’ चेम्बरका एक सदस्यले तुलसीपुर खबरसँग भने ।  

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया