
तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–१ का ३४ बर्षीय नविन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जादै गरेको प्र. ५–०२–००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले तुलसीपुर–९ दोघरे पेट्रोल पम्प नजिकै गएराती ९ बजेको समयमा पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी प्र. ५–०२–००१ प ०४८९ नम्बरका मोटरसाइकल चालक वली घाइते हुनुभएको हो । दुबै मोटरसाइकलमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकसहित ठक्कर दिने रा ३ प ४६७३ नम्बरका मोटरसाइकल चालक तुलसीपुर–८ का १८ बर्षीय गंगाराम डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते वलीको दाँया खुट्टा दुईठाउँमा भाचिएको छ । उनलाई प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।।