
दाङ ३० माघ । दाङको बंगलाचुली गाउँपालिकाले भोलि फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यपालिका वैठकबाट बंगलाचुली गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक विदा दिने निर्णय भएको उहाँको भनाइ छ । यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विदा सम्बन्धी सार्वजनिक सूचना जारी गरेर सबैलाई विदाको जानकरी गराएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बंगलाचुली गाउँपालिकाको यही माघ २९ गते बसेको गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार मिति २०८१ फाल्गुन १ गते बिहिवारका दिन जनयुद्ध दिवस २०८१ को अवसरमा बंगलाचुली गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सवै सरकारी कार्यालयहरु एवं शिक्षण संस्थाहरुमा समेत एक दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
यसैविच गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको सन्दर्भमा प्रतिक्रिया दिँदै जनयुद्ध दिवसलाई सामाजिक न्याय, समानता, र समावेशी विकासको लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनु भएको छ । जनयुद्ध नेपालका उत्पीडित, उपेक्षित, र पछाडि पारिएका वर्गहरूको मुक्तिको आन्दोलन रहेको र यस दिवसलाई केवल एउटा ऐतिहासिक घटना मात्र नभई, समतामूलक समाज निर्माणको दिशामा मार्गदर्शक तत्वका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष पुनले जनयुद्धका उपलब्धिहरूलाई संरक्षण गर्दै देशमा सामाजिक न्याय र विकासका कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाले जनयुद्ध दिवसको औैचित्यमाथि प्रकाश पार्दै जनयुद्धको भावना भनेको मात्र हतियार उठाउने विषय नभएको बरु समाजको सबै पक्षलाई न्यायपूर्ण तरिकाले अघि बढाउने सोच रहेको बताउनुभयो। ‘हामीले यस दिवसलाई समाज रूपान्तरण र समावेशी विकासको अभियानका रूपमा लिनुपर्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष पुनमगरले जनयुद्ध दिवको अवसरमा सार्वजनिक बिदा दिने निर्णयले जनयुद्धका बलिदानहरूलाई सम्मान गर्ने, यसको सन्देशलाई सही रूपमा सम्प्रेषण गर्ने, र वर्तमान तथा भविष्यका लागि सकारात्मक पहलहरू अघि बढाउने बताउनुभयो ।
जनयुद्ध दिवस नेपालमा विशेष महत्व राख्ने दिन हो। तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र संघर्षको सुरूवात गरेको थियो, जसले नेपालको राजनीतिक परिदृश्यलाई बदल्ने महत्त्वपूर्ण मोड ल्यायो । जनयुद्धको माध्यमबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, र समानुपातिक प्रतिनिधित्वजस्ता प्रणालीगत परिवर्तनहरू स्थापित भएका छन्।।