काठमाडौं – देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावाना छ । मनसुन देशभरी नै सक्रिय भएकोले दुई तीन दिन देशभरकै मौसम यस्तै रहने मौसमविदले बताएका छन् । केहीबेर मौसम खुलेजस्तो भए पनि फेरि झरी पर्ने मौसमविद् रिमालले बताउनुभयो । यसैबीच चुरे र महाभारतबाट बहने प्राय सबै नदीमा जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
गोरखा, धादिङ, लमजुङ र कास्कीका केही भागमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । बागमती र नारायणी नदी आसापमा बस्नेलाई पनि सावधानी अपनाउन भनिएको छ । मध्यरातिको वर्षाका कारण पश्चिमको बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । त्यस क्षेत्रको तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।