
जुम्ला, ११ माघ । जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–१ निवासी शाही र उहाँले जन्म दिएको नवजात शिशुको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार घरबाट बेहोस भएर अस्पताल गएकी ती सुत्केरी आमालाई आइसियूमा राखिएको थियो । उहाँको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।
उहाँको बच्चाको भने माघ ३ गते अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो । प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार गत माघ ३ गते ११ः२४ बजे बेहोस् अवस्थामा पुगेकी उहाँलाई भेन्टिलेरमा राखिएको थियो । परिवारका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई माघ २ गते राति नै सुत्केरी व्यथा लागेको थियो । समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुर्याइएको थियो ।।
प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार