इजरायली आक्रमणमा गाजामा ध्वस्त भएका भग्नावशेष हटाउन ५ वर्ष लाग्ने

फाइल फाेटाे

एजेन्सी, १२ माघ ।  गाजामा भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्ने भएको छ । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजाका भग्नावशेष हटाउन ३ देखि ५ वर्ष लाग्नसक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवासमन्त्री अहेद बिसिसोले बताएका हुन् । विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरण सुरक्षित गर्न र भग्नावशेष उठाउन, सामान छुटाउन र ढुवानी गर्न तीनदेखि ५ वर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा)सँग बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि काम गरिरहेको पनि बताएका छन् ।

अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १ सय ५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन विषयमा केन्द्रित हुने बिसिसोले बताए । ‘२ करोड ५० लाख क्षतिको स्थानीयले पेस गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,’ बिसिसोले भने । वेस्ट बैंक र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न कार्यदल स्थापना गरिएको छ । ‘प्रारम्भिक जानकारीनुसार इजरायली आक्रमणका कारण लगभग ४ लाख आवासीय एकाइ पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन्,’ बिसिसोले भने, ‘दाताको समन्वयमा २ लाख नयाँ एकाइ निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ ।’

आंशिक क्षति भएका घर मर्मत सम्भार गर्न र पूर्ण रूपमा ध्वस्त भएकालाई अस्थायी आवास उपलब्ध गराउन साझेदारसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ । आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि करिब १ अर्ब २० करोड अमेरिकी डलर लागत लाग्नेछ । गाजास्थित प्यालेस्टिनी सरकारी सञ्चारमाध्यम वाफा कार्यालयले युद्धविरामपछिको पहिलो मूल्यांकनमा गाजापट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया