प्रचण्डले तुलसीपुरमा पुगेर भने : ‘हामी गल्ति सच्याउँछौ, तपाईहरु २०८४ मा बहुमत दिनुस्’

फोटो : गणेस बुढाथोकी

दाङ, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा गरेको जस्तो माया र विश्वास गर्न आग्रह गर्नुभएको छ ।  नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई दाङको तुलसीपुरमा सम्बोधन गर्दै अध्यक्ष दहालले आफूहरूले गरेको गल्तीलाई सच्याउने बताउँदै २०६४ सालमा जस्तो मत दिन अपिल गर्नुभयो ।

‘‘म देशैभर अपिल गर्दै हिँडेको छु । हाम्रो तपाईँहरूलाई अनुरोध छ, आग्रह छ । हामीले हाम्रो गल्तीलाई सच्याउँछौ । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन् नि बिचरा ! भनेर तपाईँहरूले एकचोटी ६४ सालको जस्तो माया र विश्वास गरिदिनुभयो भने २०८४ मा हामी बहुमतमा आउनेछौ र बहुमतले यो देशबाट भ्रष्टाचारको जरा उखेल्ने छ । त्यो बहुमतले सामाजिक विभेदको पुरै अन्त्य गर्ने छ र यो देशमा आर्थिक विकास र रोजगारीको एउटा नयाँ युगमा लैजाने छ । अन्तः न्यायाधीश तपाइ जनताहरू नै हो । यही अपिल गर्न म तपाइहरुको सामु आएको हुँ ।’ अध्यक्ष दहालले  भन्नुभयो ।
जीवनको अन्तिम क्षणसम्म केही गर्ने हुटहुटी भएको बताउँदै उहाँले माओवादीबाट विभाजन भएर गएकालाई एकतावद्ध गर्ने अभियानमा लागेको र प्रतिपक्षी दलहरूलाई पनि सरकारका विरुद्ध मोर्चाबन्दी गर्ने काममा पार्टी  अग्रसर भएको बताउनुभो ।  संविधान मिचेर बनेकाले केपी ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको अध्यक्ष दहालले ठोकुवा गर्नुभयो । 

‘‘यो सरकार असंवैधानिक छ । गैरकानुनी सरकार हो । जनविरोधी सरकार हो । ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने थियो । तर संविधान मिचेर केपी ओलीको नेतृत्वमा सरकार बन्यो । मैले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भनेको थिए । उहाँले पनि तपाई ढुक्क हुनुस् भन्नु भएको थियो । संविधान नमिच्दा सरकार बन्ने भएन । त्यसपछि दुबै पार्टीले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउँछौ भन्ने धम्की दिएपछि राष्ट्रपति पछि हट्नुभयो  र संविधान मिच्ने काम भयो ।’’ अध्यक्ष दहालले भन्नुभयो ।

जनयुद्ध, शान्ति सम्झौता र संविधानसभा मार्फत लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक लोकतन्त्र स्थापनामा जनताले ठूलो साथ दिएको स्मरण गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दहालले सुशासन, समाजिक न्याय र आर्थिक विकासको अर्को लडाई, माओवादीले लड्न चाहेकाले साथ दिन आग्रह गर्नुृभयो ।  भ्रष्टाचारमा संलग्न फरार अभियुक्तालाई पक्राउ गर्ने वित्तिकै आफुलाई ठूला पार्टी भन्नेहरु डराएर अप्राकृतिक गठबन्धन गरेर सरकार बनाएको दाबी गर्नुभयो ।

‘तेस्रो पटक प्रधानमन्त्री भएपछि भ्रष्टाचारका विरुद्ध अभियान सुरु गरकै हो । भुटानी शरनार्थी । ललिता निवास । गिरी बन्धु टि स्टेट । ओमनी काण्डका विरुद्ध म लाग्ने आँट गरे । अब हाम्रो पनि पालो आउने भयो भनेर काँग्रेस एमाले डराए र जाली फटाहरु मेरा विरुद्ध लागे ।’ अध्यक्ष दहालले भन्नुभयो ।
घाटामा गएको विद्युत प्राधिकरणलाई ५० अर्व नाफमा लैजाने कुलमान घिसीङलाई हटाउन निकै जालझेल रचेको बताउँदै संवैधानिक परिषदमा समेत गठनबन्धनको बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानालाई पनि विभिन्न आरोप लगाएर हटाउने प्रयास गरेर दिउँसै रात पार्ने काम गरेको उहाँले बताउनुभयो ।

पालिका कमिटीका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको खबरदारीसभामा  माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा, केन्द्रिय सदस्य जगप्रशाद शर्मा अपार, लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्की राजेस, केन्द्रिय लेखा समितिका सदस्य रामबहादुर दहित लगायतले बोल्नु भएको थियो ।   पालिका कमिटीका अध्यक्ष तुलाराम भण्डारी (बारुद) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सशिकिरण ढकालले गर्नु भएको थियो । 

 

एकैघरका ६ जना सहिद भएका परिवारको घरमा प्रचण्डको खाना
यसैबीच पुष्पकमल दहाल प्रचण्डले एउटै घरका ६ जना सहिद भएका घरपरिवारलाई समेत भेट्नु भएको छ । तत्कालिन द्धन्द्धको सयमा तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुर निवासी भगवति चौधरीको घरमा बम बनाउने क्रममा बिष्पोट हुँदा एकै घरका ६ जनाको मृत्यु भएको थियो । प्रचण्डलाई सहिद परिवारको घरमा खानाखाने वातावरण पार्टीले मिलाएको थियो । 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया