दाङमा गहुँखेतीप्रति किसानको आकर्षण घट्दै

तुलसीपुर, ९ माघ । दाङमा गहुँखेतीप्रति किसानको आकर्षण घट्दो क्रममा रहेको छ । कृषि ज्ञान केन्द्रले दाङले दिएको तथ्याँक अनुसार जिल्लामा प्रत्येक वर्ष गहुँ खेती हुने क्षेत्रफल घट्दै गएको देखिएको हो । गत वर्षको तुलनामा यस वर्ष करिब एक सय हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ११ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको गरिएको छ ।

गत वर्ष भने ११ हजार ५ सय ३० हेक्टरमा गहुँ खेती गरिएकोमा ३५ हजार ७ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट ३९ हजार २ सय १५ मेट्रिकटन उत्पादन भएको थियो । उहाँका अनुसार दाङमा गौतम, २ सय ९७, विएल ४३/४१, बारगुञ्जा, जिङक, दोर्नल २०/२०, बिजय जातको गहुँखेती हुने गरेको छ । दाङमा गहुँ छर्ने उपयुक्त समय कार्तिकको १५/२० गतेदेखि मंसिरको १० गतेसम्म हुने अर्थविज्ञ लामिछानेले बताउनुभयो । जिल्लाका १० वटै स्थानिय तहमा गहुँ खेती हुने गरेको छ तर सिंचाइको सुविधा भएका पालिकामा गहुँ भन्दा तोरी खेती धेरै हुने गरेको उहाँको भनाइ छ ।
गहुँखेती किन घट्यो ?
किसानहरू तोरी बालीमा बढी आकर्षित भएपछि गहुँ लगाउने क्षेत्रफल र गहुँको उत्पादनमा कमी आउन थालेकोे कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ छर्ने जग्गामा तोरी छरेकाले गहुँ छर्ने क्षेत्रफल घटेको हो । तोरी काटेर फेरी चैते मकै लगाउने भएकाले किसानहरूले गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् ।

तोरी गहुँभन्दा छिटो र केही सहज हुने बाली भएकाले धेरै आम्दानी गर्ने उद्देश्यले गहुँ लगाउन छोडेर तोरी लगाउन थालेपछि गहुँ खेती गर्ने क्षेत्रफल घटेको उहाँको भनाइ छ । तोरी काटेर फेरी चैते मकै लगाउने र मकै पछि फेरी वर्षे धान लगाउने भएकाले किसानहरू गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् । गहुँ लगाएपछि वर्षामा धान लगाउन ढिलाइ हुने भन्दै किसानहरू गहुँ लगाउन छोडेर तोरी लगाउन थालेका हुन् ।
गहुँको खेती कसरी गर्नुपर्छ ?
पारिलो घाम लाग्ने, खुल्ला ठाउँ, बर्बुराउँदो चिस्यान रहेको बलौटे दोमट माटो हुनु पर्ने अर्थविज्ञ लामिछानेले बताउनुभयो । ‘चिसो भनेको हिलोमाटो भएको चिसो नभएर बर्बुराउँदो चिस्यान भएपछि राम्रो हुन्छ । डल्लाहरू नभएको दुई÷तीन पटक जोतेर मसिनो धुलो बनाएर छर्नुपर्छ’ उहाँले भन्नुभयो । गहुँ छर्ने बेलामा रासायनिक मल डिएपि र पोटास हाल्नुपर्ने उहाँँको भनाइ छ ।‘किसानहरूले गहुँ छर्ने बेलामा रासायनिक मलसँगै डिएपि मल पनि मिसाएर हाल्ने गर्छन्’ उहाँँले भन्नुभयो–‘तर त्यसो गर्नुहुँदैन, युरियाको आवश्यकता छर्ने बेलामा हुँदैन ।’ गहुँ छरेको २२ देखि २५ दिनमा पहिलो सिँचाइ गर्नुपर्ने उहाँँले बताउनुभयो ।

‘यो अवधिमा पहिलो सिँचाइ अति अनिवार्य हो’ उहाँले भन्नुभयो– ‘गहुँमा यस समयमा सिँचाइ गर्न नसकेमा गहुँको उत्पादनमा आधाले गिरावट आउन सक्छ ।’ पलाउने बेलामा क्राउन रोग लाग्ने भएकाले उक्त रोग नियन्त्रण गर्नका लागि यो सिँचाइको आवश्यकता पर्ने उहाँको भनाइ छ । गहुँ पलाउने बेलामा चिस्यान चाहिने र सिँचाइ गरिसकेपछि विभिन्न किसिमका झार उम्रने भएकाले एकपटक झार मार्ने औषधी छर्नुपर्ने उहाँले बताउनुभयो ।गहुँमा पहिलो सिँचाइ पश्चात् युरिया छरेर छोड्ने गरेमा विभिन्न किसिमका झारहरूलाई हुर्कन सजिलो हुने भएकाले पनि झार मार्ने औषधी छर्नुपर्ने अर्थविज्ञ लामिछानेको भनाइ छ । गहुँँले लिनुपर्ने तत्वहरू झारले लिँदा उत्पादनमा कमी आउने भएकाले झार मार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया