दाङमा शिकार खेल्न गएका कुसारीको मृत्यु भएपछि उनका २ जना साथी पक्राउ 

तुलसीपुर, ६ माघ । जिल्ला प्रहरी कार्यालय दाङले संगै शिकार खेल्न गएका ३ मध्य १ जनाको मृत्यु भएपछि उनका २ जना साथीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–२ निवासी २२ वर्षका छविलाल डाँगी र सोही ठाउँ निवासी २७ वर्षका पुष्पलाल बस्नेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

माघ ३ गाउँकै राजाकोट सामुदायिक वनमा शिकार खेल्न गएका ३ मध्य दंगीशरण गाउँपालिका–२ कौवाघारी निवासी २५ वर्षका प्रेम बहादुर कुसारीको भरुवा बन्दुको छर्राले लागेर मृत्यु भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । गएको बिहीबार रुखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नर्सिङ होम नेपालगंज लगिएका कुसारीको उपचारको क्रममा सोहीदिन राति ८ बजे मृत्यु भएको थियो ।

घटना शङ्कास्पद रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन प्रसाद तिमिल्सिनाको नेतृत्वमा शुक्रबार पुगेको प्रहरीले मृतक कुसारीको शवलाई घरबाटै नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि नेपालगंज पठाएको थियो । पोष्टमार्टमका क्रममा मृतक कुसारीको खुट्टाको साँप्राशरीरका विभिन्न भागमा भरुवा बन्दुकका छर्रा फेला परेपछि प्रहरीले शिकार खेल्न गएका दुई जना साथी डाँगी र बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।  घटनाको विषयमा पक्राउ परेका दुबै जनाको कुरा बाझिएको भन्दै एसपी तिमिल्सिनाले विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने बताउनुभयो । 
 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया