
कपिलबस्तु, ५ माघ । कपिलबस्तुमा स्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–७ बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं। ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार रातो रंगको लेडिज साइकलमा कालो रंगको पछाडि झोला बोकी बर्रोहियादेखि तौलिहवातर्फ जाँदै गरेको अवस्थामा मिश्रलाई पक्राउ गरिएको हो ।
स्रोत नखुलेको नेपाली एक हजार दरको ८ सय ९० थानको आठ लाख नब्बे हजार, ५ सय दरको एक हजार ३२० थानको जम्मा छ लाख साठ्ठी हजार, १ सय दरको १ सय ८० थानको जम्मा अठार हजार, ५० दरको ४० थानको जम्मा दुई हजार गरी पन्ध्र लाख सत्तरी हजार नेपाली रुपैया सहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त रकमको कुनै पनि स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को ९क० अन्तर्गत हुण्डी कारोबारको आशंकामा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका मिश्रलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।।