दाङमा खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न सकेन

तुलसीप्ुर, ५ माघ । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले लग्य अनुसारको धान खरिद गर्न सकेको छैन । जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अर्थात एक हजार ६ सय ३२ क्विन्टल १५ केजी मात्र धान खरिद गर्न सफल भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । खरिद गरेको धान ५५ लाख मूल्यको रहेको उहाँले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।

कार्यालय प्रमुख सुनारका अनुसार खाद्यले जिल्लामा किसानसँग प्रतिक्विन्टल तीन हजार चारसय १० रुपियाँ ५१ पैसाका दरले धान खरिद गरेको थियो । केन्द्रबाट ढिलागरी धान खरिदका लागि परिपत्र आउँदा लक्ष्यको निकै कम मात्रामा धान खरिद भएको भन्दै प्रमुख सुनारले नियमित रुपमा प्रत्येक बर्ष खाद्यले धान खरिद गर्दैआएको भए यो समस्या नआउने बताउनुभयो।

धेरै बर्षपछि धान खरिद गर्दा किसानले विश्वास नगरेका कारण पनि यस्तो समस्या खाद्यले बेहोर्नु परेको हो ।
व्यापारीकोभन्दा बढी मूल्य दिएर खाद्यले यो बर्ष किसानसँग धान खरिद गरेकाले आगामी बर्ष पनि धान खरिदमा समस्या नआउने उहाँले बताउनुभयो । यो बर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद गरिएको उहाँको भनाइ छ । कार्यालयका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार ६ सय २५ क्विन्टन र बाँकी धान तुलसीपुर उपमहानगरपालिकाबाट खरिद गरेको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया