ओपेन्द्र बस्नेत
तुलसीपुर, १३ असाढ / विगत लामो समय देखि पानीको समस्या भोग्दै आएका जिल्ला प्रहरी कार्यालय सल्यालनका जवान र अधिकृतले राहात पाएका छन् । जिल्ला प्रहरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र बर्षाते पानी पुर्नभरण आयोजनाको सहयोगमा पानी ट्याङकी र स्नान घर निर्माण भएपछि पानीको दुःख हटेको हो । यस अघि रिजर्भ ट्याङकी नहुँदा जवानहरु एक गाग्री पानी ल्याउन घन्टौ हिडेर खोलाको पानी ल्याउन बाध्य थिए । ‘हिलट्याङकीमा जम्मा गरेको पानी खाना पकाउन, भाँडा माझन र सौचालयमा प्रयोग गर्न पुग्दैनथ्यो,’ प्रहरी नायब उपरिक्षक भरतबहादुर विकले भने, ‘ त्यसपछि पानी ल्याउन खोला जानुपर्ने अवस्था थियो ।’
ट्याङकी निर्माण पश्चात गस्तीबाट फर्कीपछि नुहाउन, कपडा धुन, सरसफाई गर्नु कासाथै समयको बचत र शान्ति सुरक्षामा पनि सहजता भएको प्रनाउ विकले बताए । रिर्जरभ ट्याङकी नहुँदा ठूलो जनशक्ति खोलाको पानी ल्याउनमानै लाग्ने भएकाले आपतकालीन अवस्थामा प्रहरीलाई घटना स्थल पुग्न, गस्ती तथा पेट्रोल गस्ती गर्न कठिनाई हुने गरेको थियो । ‘धुलोमैलो भएर केटाहरु गस्तीबाट आउने’ प्रनाउ विकले भने,‘ नुहाउने पानी नहुँदा त्यत्तिकै सुत्दा स्वास्थ्यमा समेत असर परेको थियो ।’
श्रीनगरबाट लिप्ट गरी ल्याएको पानी र आकाशे पानीलाई घरको छतबाट ट्याङकीमा खसाउने गरिएको छ । ४ लाख ८३ हजार ७ सय ३२ रुपैयाँ लागतमा प्रहरी कार्यालयको प्राङ्गगनमा निर्माण गरिएको ट्याङकीको उद्घाटन प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले गरेका थिए ।