
दाङ, ३ माघ । दाङको तुलसीपुर उप–महानगरपालिकाको छिल्लीकोटमा पुसमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि उक्त क्षेत्रमा कुनै वर्ष चैतभन्दा पछि र कुनै वर्ष अघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको छ । गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको स्थानीयले बताएका छन् । केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिले अघि र कहिले पछि पाक्दा आफूहरू अचम्ममा परेको स्थानीयको भनाइ छ । छिल्लीकोटमा पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।
जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उप–महानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभएको छ । उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको हो । यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नभएकाले यसको प्रभावले पनि छिट्टै काफल पाकेको उहाँले बताउनुभयो । बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँले बताउनुभयो ।।