मृतक तिर्सनाको परिवार र यातायात समितिबिच सहमती

तुलसीपुर, २६ पुष । तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएका तिर्सना घर्ति मगरको परिवार र यातायात समितिबिच सहमती भएको छ । यातायात समितिले मृतकका परिवारलाई बिमा बाफतको ५ लाख रुपैयाँ दिने र मृतक तिर्सनाका छोराछोरीलाई पढाउन सहयोग गर्ने सहमती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताउनुभयो । (बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर–५ बसपार्क स्थित माछापुछ्रे गेट नजिकै तुलसीपुर–५ सम्झना टोलका ३९ वर्षिय तिर्सना घर्ति मगरलाई बसले ठक्कर दिदा मृत्यु भएको थियो ।
त्यहि घटनालाई लिएर पिडीत पक्षले विहीबार दिउँसो २ बजेपछि तुलसीपुर बजारमा यातायातका सवारी साधन पूर्ण रुपमा बन्द गरेरे आन्दोलन गरेका थिए । तिर्सनाको मृत्यु भएपछि उहाँका आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बुधबार विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया