सत्गुण पाउरोटी उद्योग सिल

तुलसीपुर २५ पौष। दाङको तुलसीपुरमा रहेको सत्गुण पाउरोटी उद्योग सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ९ वेलुवामा रहेको सत्गुण पाउरोटी उद्योगमा खाद्य स्वच्छता र सरसफाईको अवस्था कमजोर भएकाले र पटपटकको निर्देशन समेत पालना नगरेकाले उद्योग नै सिल गर्नु परेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा उद्योगमा पाउरोटी लगाएत खाद्य वस्तु उत्पादन गर्दै गर्दा खाद्य स्च्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३५ को उपदफा १ सँग सम्बन्धित निर्देशिका पालना नगरिएको पाईएको हो ।

उपभोक्ताको व्यापक गुणासो पछि तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्मा, खेम कान्त पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक विवेक कुमार सुवेदी, सुदर्शन गोसाई, इलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपाने, वडा नं. ९ का सदस्य गोपाल भण्डारी, उद्योग प्रतिनिधि, नगर प्रहरी, पत्रकार लगाएतले आज गरेको स्थलगत अनुगमणका क्रममा यस्तो समस्या देखिए पछि ३ दिन भित्र सुधार गर्ने गरि उद्योग वन्द गरिएको हो ।


अनुगमनका क्रममा पाउरोटी बनाउने मेसिन सफा नगरिएको, उद्योगमा काम गर्ने व्यक्तिले एप्रोन, पञ्चाको प्रयोग नगरिएको, उद्योग भित्र र वाहिरका लागी एउटै चप्पल प्रयोग भएको, दुनोट पकाउने ठाउँ नजिकै शौचालय, भान्सा र फोहोर ठाउँ भएको पाईएको थियो । यस्तै उत्पादन तथा उपभोग्य मिति स्पष्ट नदेखिने, उत्पादन कक्षभित्र प्रवेश गर्ने ढोका खुल्ला भएको, काठको टेवुलको प्रयोग भएको लगाएतका सरसफाईमा कम्जोर अवस्था देखिएकाले यो सबै समस्या सुधार पछि मात्रै पुनः उद्योग सञ्चालन गर्न दिईने खाद्य निरिक्षक सुदर्शन गोसाईले बताउनुभयो ।

सरसफाई र गुणस्तरमा ध्यान नदिई उद्योगबाट उत्पादन हुने यस्ता खाद्य वस्तुहरु वजारमा पुग्दा र यसको सेवनबाट मानव स्वास्थयमा नम्भिर समस्या उत्पन्न हुने भन्दै उपभोक्ताहरु पनि सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शर्माले बताउनुभयो । कुनै पनि व्यवसायीले पैसा कमाउने उद्देश्य मात्रै नलिई उपभोक्ताको स्वास्थ्य प्रति पनि गम्भिर बन्न आवश्यक रहेको भन्दै गुणस्तरयुक्त खाद्य वस्तु उत्पादनमा ध्यान दिन पनि उहाँले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया