अध्यक्ष शाहले ध्वस्त बनाउँदै मावि अश्वारा, दरबन्दी कटौती भएपछि सयौँ विद्यार्थीको भविष्य अन्यौलमा 

तुलसीपुर, २४ पुष ।  विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार भित्र शिक्षक सेवा आयोग वा सम्बन्धित निकायबाट खटिएका शिक्षक तथा कर्मचारीलाई हाजिर गराई काममा लगाउनुपर्ने र स्वच्छ शैक्षिक वातावरण कायम राख्दै राजनैतिक भावनाको आधारमा विद्यालयको वातावरणलाई धमिल्याउन नहुने कानुनी व्यवस्था छ ।
तर तुलसीपुर– ८ स्थित अश्वारा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहले यसको धज्जी उडाउँदै कानुन विपरित काम गर्दा सयौँ बालबालिकाको भविष्य अन्यौलमा परेको छ ।  रिक्त पदमा आएका गणित विषयका शिक्षक डिल्ली बहादुर खत्रीलाई अध्यक्ष शाहले झण्डै २ महिनासम्म विद्यालयमा हाजिर हुन नदिएपछि नगर शिक्षा समितिले दरबन्दी कटौती गर्दा विद्यार्थीको भविष्य अन्यौल ग्रस्त भएको हो ।

नगर शिक्षा समितिको २०८१ कात्तिक ५ गतेको दरबन्दी मिलानको निर्णय अनुसार गणित विषयका शिक्षक खत्री कात्तिक २९ गते सरुवाको पत्रसहित मावि अश्वारामा जानुभएको थियो । स्थायी  शिक्षकलाई हाजिर लगाउन बारम्बार अनुरोध गर्दा समेत अध्यक्ष शाहले हाजिर नगराएपछि मावि अश्वाराको दरबन्दी कटौती गरेको नगर शिक्षा समितिले  जनाएको छ ।

२०८१ पुष १६ गतेको बसेको नगर शिक्षा समितिको बैठकले शिक्षकलाई लामो समयसम्म हाजिर नगराएपछि मावि अश्वाराको दरबन्दी कटौती गरेर तुलसीपुर –१२  स्थित पशुपति माध्यामिक विद्यालय हरीपौरीमा दरबन्दी सहित खत्रीलाई पठाउन, गरेको निर्णयलाई पुष १९ गते बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । कार्यपालिकाको निर्णय अनुसार शिक्षा शाखाले गणित विषयका शिक्षक खत्रीलाई पदस्थापन सहित गत आइतबारदेखि पशुपति मावि हरीपौरीमा पठाएको छ ।

गणित विषयका शिक्षक हिरालाल न्यौपानेको २०८१ असार २३ गते सरुवा भएपछि रिक्त रहेको पदमा तुलसीपुर–१९ मा रहेको माध्यामिक विद्यालय भित्रीसक्रामका गणित विषयका शिक्षक खत्री आउनुभएको थियो । गणित विषयका शिक्षक नहुँदा मावि तहमा गणित विषयका पढाई करिब ७ महिनादेखि प्रभावित हुँदै आइरहेको छ ।

के भन्छन् वि.व्यसका सदस्यहरु ?
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहको अविवेकी सोच र हुँकारका कारण विद्यालयको दरबन्दी काटौती भएको भन्दै सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् ।  ‘अध्यक्षका छोराछोरी पढ्दैनन् । हाम्रा छोराछोरी पढ्छन् । चिन्ता त हामीलाई छ । उनले  त स्कुललाई राजनीतिक कृडास्थल बनाए । शिक्षकलाई हाजिर गराउने विषयमा बारम्बार बैठक बसेर छलफल गरौँ भनियो । शुक्रबार बसौला भन्दै आलटाल गर्दै ७ वटा शुक्रबार बितिसके तर अझै बैठक बस्दैन । अभिभावकले हामीलाई स्कुल बनाउनका लागि जिम्मेवारी दिएका हुन भत्काउन होइन ।अब बैठकमा अध्यक्षको राजीनामा माग गछौ । ’  वि.व्यसका सदस्यले भने।

दरबन्दी कटौती गर्न बाध्य भयौ : शिक्षा अधिकृत खड्का
विद्यालयको आवश्यकतालाई महशुस गरेर पठाएका स्थायी दरबन्दीका शिक्षकलाई हाजिर गर्न दिने संकेत नदेखेपछि दरबन्दी कटौती गर्न बाध्य भएको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । 

‘अनेत्र विद्यालयका वि.व्यस अध्यक्ष र प्रअले भौतिक पूर्वाधारको विकास, बजेट, शैक्षिक कार्यक्रम, थप दरबन्दी लगायतका माग लिएर आउने, छलफल गर्ने गर्नुहुन्छ । तर मावि अश्वारामा फरक चलन रहेछ । समन्वय त परको कुरा पठाएको शिक्षकलाई समेत महिनौसम्म हाजिर गर्न नदिएपछि हाम्रो सामु दरबन्दी काट्नुको विकल्प भएन ।’ शिक्षा अधिकृत मन बहादुर खडकाले भन्नुभयो ।

विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित हुने र कालन्तरमा बालबालिकाको भविष्यमा समेत ठूलो असर गर्ने शिक्षा अधिकृत खड्काले बताउनुभयो । एसईई परीक्षाको समय निजिकीदै गर्दा विव्यसले आफनै स्रोत साधनले गणित विषयका शिक्षकको व्यवस्थापन पनि गर्न नसक्ने र आएकालाई पनि काममा नलगाएपछि अन्तत्वगत्वा कलिला बालबालिकाको भविष्यमा लगाम लाग्ने खतरा देखिएको छ ।

को हुन किरण बहादुर शाह ?


तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी किरण बहादुर शाह नेपाली काँग्रेसका पूर्व नगर सभापति हुनुहुन्छ । गएको १४ औं महाधिवेशनमा जगतबहादुर खड्कासंग क्षेत्रिय सभापतिमा पराजित हुनुभएका शाह अहिले काँग्रेसको क्षेत्रिय प्रतिनिधि हुनुहुन्छ ।  काँग्रेस पार्टी भित्र राजनीतिक आकार लिन नसकेपछि स्थानीय विाद्यलयमा काँग्रेसको नेतृत्व गर्दै २०७९ फागुन १२ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु भएका शाहका कुनै पनि छोराछोरी वा नातिनतिना स्कुलमा पढ्दैनन् ।

दानबिरको नामबाट विद्यालयमा प्रवेश गर्नुभएका शाहले विद्यालयको चौतर्फी विकास गर्नुभन्दा पनि अधोगति तर्फ धकेल्न थालेपछि अभिभावकहरु ठूलो चिन्तामा परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले रिक्त दरबन्दीमा शिक्षक पठाउँदा आफुलाई नसोधेर शिक्षक पठाएको भन्दै अध्यक्ष शाहले हाजिर गर्न नदिने अडान राख्नु भएको थियो । 

के भन्छन् विद्यालयका प्रअ ?
यता विद्यालयका प्रधानाध्यापक शिव प्रसाद लामीछानेले आफुहरु धर्मसंकटमा परेको प्रतिकृया दिनुभएको छ । 

‘विद्यालयमा मावि तहको गणित विषयको दरबन्दी खाली छ । आएका शिक्षकलाई हाजिर लगाउन सकिएन । अब कुन मुख लिएर शिक्षक चाहियो भन्दै माग गर्न जाने ? बढो समस्यामा परियो । जेनतेन काम त चलेकै छ । तर कति दिन अरुलाई अह्राउने ।’ प्रअ लामीछानेले भन्नुभयो ।

विद्यालयको समस्याका विषयमा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्कालाई भेटेर समस्या हल गरिदिनका लागि अनुरोध समेत गरेको प्रअ लामीछानेले बताउनुभयो ।
‘‘ २/३ पटक कुराकानी र छलफल भएको छ । हजुरले भनेको सबै काम पुरा हुन्छ ।  शिक्षकलाई हाजिर लगाउनुस । विद्यार्थीको भविष्यमाथि खेलबाड नगरिदिनुस राजा भनेको छु । भनेर मेयरले मसंगको भेटमा भन्नु भएको थियो । तर सहज वातावरण बन्न सकेन ।’ प्रअ लामीछानेले भन्नुभयो ।। 

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया