
दाङ, १६ पुष । प्युठानमा जारी प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ बिचमै रोकिएको छ । प्यूठान नगरपालिकाले महोत्सव सञ्चालनका लागि दिएको अनुमति रद्द गरेपछि महोत्सव रोकिएको हो । नगरपालिकाले पुष ५ गते देखि १७ गतेसम्म महोत्सव सञ्चालनका लागि अनुमति दिएको थियो । छुट्टा छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु हुनुका साथै २ जना गम्भिर घाइते भएपछि जिल्ला बसेको सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा दिन नसक्ने बताएपछि नगरपालिकाले आयोजकलाई अनमुति रद्द गरेको पत्र हिजो राति थमाएको थियो ।
अनुमति दिने बेलामा गरेको सहमति कार्यान्वयन नगरेका कारण रातभरि होहल्ला हुनुका साथै सवारी दुर्घटनामा नागरिकको अकालमा ज्यान जान थालेपछि अनुमति रद्द गर्नुपरेको नगरपालिका प्रवक्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो । ‘‘मेला पाँच बजेसम्म मात्रै लगाउने भनेर अनुमति पत्रमा उल्लेख गरेका थियौ । तर त्यो पालना भएन । कलाकार पनि ५ बजे आउने । दारुपानी खाने । रातभरि होहल्ला गर्न थाले । अर्को कुरा महोत्सव स्थलमा एक जनाको मृत्यु भयो । यद्यपि चिकित्सकले हृदयघातका कारण मृत्यु भएको बताए । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘मेलाबाट घर फर्किदै गरेका । घरबाट मेलामा आउँदै गरेकाहरू १ जनाको सवारी दुर्घटनामा मृत्युभयो । २ जना सिरियस छन् । नागरिकको जिउधनको रक्षा गर्नु स्थानीय सरकारको दायित्व पनि हो । त्यसैले रोकेका हौ ।’’
जारी महोत्सव बिचमै रोकिएपछि पूर्वनिर्धारित कार्यक्रमहरू सञ्चालन नहुँदा महोत्सव स्थल, सुनसान जस्तै छ । यद्यपी नानगरिकहरु आउने जाने गरिरहेका छन् । यता आयोजक उद्योग वाणिज्य संघ प्युठानले जसरी पनि महोत्सव सुचारु गर्ने पक्षमा देखिएको छ । जसका कारण दुई पक्षबीच विवाद चुलिएको छ ।