
तुलसीपुर, १५ पुस । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य प्रकाश रसाईली (स्नेही)ले श्रम र सीपलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आज सोमबार तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सुनचाँदी पेशा सम्मानित पेशा भएपनि त्यसो हुन नसकेको बताउनु भएको छ ।
सुनचाँदीका गरगहना बनाउनलाई सिप र श्रम चाहिने भन्दै यो पेशालाई सम्मानित ,मर्यादित , व्यवसयीक र व्यवस्थित गर्न सरकारले आवश्यक कानुन संसोधन गर्नुपर्ने उहाँले बताउनु भएको छ । यसका लागी आफूले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता रसाईलीले सम्मानित पेशा भएपनि फितलो कानुनका कारण व्यवसाय सुरक्षित र मर्यादित हुन नसकेको भन्दै ऐन संशोधनका लागि व्यवसायी संगठनले जोडदार आवाज उठाउनु पर्ने बताउनु भएको छ ।
संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी र तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरका सल्लाहकार मीनराज वलीले सुनचाँदी व्यवसायीका मुद्दालाई राज्यले गम्भिर रुपमा लिनु पर्ने बताउनु भएको छ । राज्यले सुनचाँदी व्यवसायीका निम्ति ठोस नीति नबनाउँदा विभिन्न समस्याहरू झेल्नु परेको बताउँदै उनीहरूले यस प्रति राज्यले आवश्यक नीति बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण संघका सचिव लोक बहादुर विश्वकर्माले गर्नुभएको थियो ।