जनावर मार्न थापेको एम्बुसमा मान्छे परेपछि तुलसीपुरमा दुई पक्राउ

तुलसीपुर, ९ असाढ/ जंगली जनावर मार्न एम्बुस थापेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका १ बाँकी बेटारपुरका बिजुली डाँगी र चन्द्र खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजना सम्बन्धि मद्दा चलाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।
दंगिशरण गाउँपालिका १ स्थित कनरिया सामुदायिक वनमा जंगली जनावरका लागि थापिएको बन्दुकको धरापमापरी फुर्केसल्लीका २० वर्षीय कृष्णकुमार घर्ती र २५ बर्षीय भिम घर्ती घाइते भए पछि घटना बाहिर आएको हो ।
हराएका गोरु खोज्न शुक्रबार बेलुकी जंगल गएको समयमा बन्दुकको एम्बुस पड्किदा दुबै जनाको खुट्टामा गोली लागेको थियो । घाईते दुवैजनाको अहिले कोहलपुरमा उपचार भइरहेको छ । राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार संभवन नभएपछि कोहलपुर रिफर गरिएको चिकित्सकले बताएका छन् । ‘बंदेल मार्न जंगलमा बन्दुको एम्बुस बनाएका रहेछन्,’ प्रनाउ सापकोटाले भने,‘ गोरु खोज्न जंगल गएकालाई गोली लाग्यो ।’

 

प्रकाशित मिति : २०७५ असार ९ गते शनिवार
प्रतिक्रिया