दाङ, २९ मंसिर । ‘गएको मंसिर २२ गते बिहान करिब साढे आठ बजेको थियो । वीरेन्द्र चोक नजिकै सुन्तला किनेर घर जानका लागि विद्युत नजिक पुगेर घोराही जाने बसमा चढे । सिटमा बस्ने वित्तिकै दुईवटा व्याग मध्य एउटा व्याग देखिन । त्यतिबेला म छाङ्गाबाट खसे झै भए । दौड्दै दौड्दै सुन्तला किनेको ठाउँमा पुगे । ब्याग देखिन । सुन्तला बेच्नेवालालाई सोधे देखेन भन्ने जवाफ पाए । हराएको ब्यागमा औँठी, बाला, तिलहरी समेत गरेर ३ तोला सुन र २५ हजार नगद थियो ।’ तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी बालीका वली, आफन्तको बिहेमा सहभागी भएर घर फर्किदै गर्दा नगद सहित गरगहना हराएको पीडा यसरी सुनाउनुभयो ।
नगद र गरगहना सहित हराएको व्याग नभेटिएपछि पिडित महिलाले प्रहरीलाई जानकारी गराउनुभयो । त्यसपछि प्रहरी खोजी कार्यमा जुट्यो । प्रहरीले सिसी क्यामरा हेर्ने देखि केही व्यक्तिलाई सोधपुछ ग¥यो । शङ्कास्पद ठाउँमा समेत प्रहरी पुग्यो । कतै पत्ता लागेन । तुलसीपुर प्रहरीलाई जिल्लाको एसपी देखि डिआइजीसम्म र कार्यकर्ता देखि नेतासम्म ब्याग खोजीका लागि प्रेसर आयो । उसो त प्रहरी हराएको ब्याग खोजी मै थियो । तर एक हप्ता बित्यो तर ब्याग भेटिएको छैन ।
यस्ता थुप्रै घटनाहरू तुलसीपुर बजार क्षेत्रमा भइरहन्छन् । तर पहिचान नभएका घटनाहरूको अनुसन्धान गर्न प्रहरीलाई निकै कठिन भएको छ । बढ्दो प्रविधिले आपराधिक गतिविधिको अनुसन्धानलाई निकै सजिलो बनाइदिएको छ । तर अपराधमा सहयोग पुग्ने उपकरण नभएपछि जतिसुकै प्रविधिको विकास भएपनि त्यसले कुनै अर्थ राख्दो रहेन छ । यस्तै समस्याको जालोभित्र तुलसीपुर प्रहरी परेको छ ।
२१ वटा सिसी क्यामरा मध्य १३ वटा बिग्रिए
दाङको तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामरा बिग्रिएपछि सुरक्षा चुनौति बढेको छ ।एक वर्ष अघि बिग्रिएका क्यामरा मर्मतमा कसैले ध्यान दिएका छैनन् । प्रहरीले क्यामरा मर्मत संभारका लागि बजेट नभएको बताउँदै आएको छ भने स्थानीय सरकारले कुनै चासाे नदिएकाे गुनासाे प्रहरीले गरेकाे छ । बजार क्षेत्रमा चोरी, लुटपाट, कुटपीट, सवारी दुर्घटनामा वृद्धि हुन थालेपछी यसको न्यूनिकरणका लागि पब्लिक प्राइभेट पार्टनरसिप कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा २०७७ सालमा २१ वटा क्यामरा जोडियो ।
केही वर्षसम्म प्रहरीलाई बजार क्षेत्रमा हुने विभिन्न घटनाको विषयमा अनुसन्धान गर्न र आपराधी पत्ता लगाउन निकै सहज भयो । तर पछिल्लो समय बिग्रीएका क्यामरा मर्मत गरेर संचालनमा ल्याउन नसक्दा यसले समस्या पैदा गरेको छ । जसका कारण तुलसीपुरमा हुने अधिकाँस घटनाहरुको नजिक पुग्न प्रहरीलाई निकै चुनौति थपिएको छ । प्रहरीका अनुसार विपि चोक, स्टार लज, सुनिल स्टेस्नरी, उद्योग वाणिज्य संघ, वाहिनी चोक, तुलसी बोर्डिङ चोक, जेसिज चोक, मदन आश्रीत चोक, हस्पिटल चोक, विरेन्द्र चोक, सिदार्थ हार्डवयर, वस पार्क र रानी जरुवामा रहेका सिसी क्यामरा विग्रीएका छन् । २१ वटा क्यामरा मध्य वीरेन्द्र चोक, सल्यान रोड, पिलपलबोट (ओरालो) वस पार्क, ‘ग’लाइन, आलुमण्डी, पुलचोक र घोराही रोडमा रहेका क्यामरा मात्रै संचालनमा छन् ।
अपराधीको नजिक पुग्न सिसी क्यामरा आवश्यक छ : तुलसीपुर प्रहरी
तुलसीपुरमा हुने विभिन्न खाले आपराधिक घटना न्यूनिकरणका लागि सिसी क्यामरा महत्वपूर्ण माध्यम भएको प्रहरीले जनाएको छ । क्षेत्र र घटना क्रमको दृष्टिकोणले दर्जनौ सिसी क्यामरा थप्नुपर्ने बेला भएका क्यामरा समेत विग्रीएर थन्किएपछि तुलसीपुर क्षेत्रको शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउने कुरामा केही समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले बताउनुभयो । वीरेन्द्र चोकको २ वटा क्यामरा मध्य एउटा क्यामरा विग्रीएका कारण तीन तोला सुन र केही नगद सहित हराएको ब्याग अहिले सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
‘वीरेन्द्र चोक को २ नम्बरको सिसी क्यामरा विग्रीएको रहेछ । अर्को १ नम्बरको क्यामरा टाढा भएकाले कभर गर्न सकेन् । त्यसकारण जतीसुकै मानव संसाधन प्रयोग गरे पनि भेटाउन सकिएन । उपकरण छन् तर विग्रीएको हालतमा छन् । उपमहानगर भित्रको प्रमुख बजारमा आधुनिक क्यामराको व्यवस्था हुनुपर्ने हो । बजारमा जति अवसर तथा सुविधा छ त्यतिकै जोखिम पनि छ । यो कुरा कस्ले बुझने ? कुनै घटना भयो भने प्रहरीले यसो गरेन र उसो गरेन भन्ने एकोहोरा आरोप मात्रै आउँछ ।’ डिएसपी ठकुरीले भन्नुभयो ।
बिग्रीएका क्यामरा मर्मत संगै ग्रुम्राह चोक, सल्यान रोड, .(शिवमन्दिर), दोघरे, बेलुवा (दाजुभाइ चोक) सुकौरा, रोड, गोठीखोला, बसपार्क भित्र सिसी क्यामरा राख्न अति आवश्यक रहेको प्रहरीले जनाएको छ । बिग्रिएका क्यामरा मर्मत संभार र आवश्यक स्थानमा क्यामरा थप गर्न तुलसीपुर उपमहागनरपालिकालाई लिखित रुपमा अुनरोध गरेको डिएसपी ठकुरीले बताउनुभयो ।
यता तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले तुलसीपुर क्षेत्रलाई सुरक्षीत राख्नकाका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहनु पर्ने बताउँदै क्यामरा बिग्रीएको र थप गर्ने विषयमा जानकारी नभएकाले प्रहरीसंग समन्वय गरेर आगामी कार्यपालिका बैठकमा यसका विषयमा छलफल गर्ने बताउनुभयो ।