तुलसीपुर, २३ मंसिर । दाङको तुलसीपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । तुलसीपुर–४ खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु.प्र.०२–००१ प १७१७ नम्बरको मोटरसाइकल गत आइतबार दिउँसो सवा २ बजेको समयमा तुलसीपुर–४ ठुला खाली नजिकै आफै अनियन्त्रित भएर रुखमा ठोक्किदा दुर्घटना भएको थियो ।
मोटरसाइकल सडक देखि ५ मिटर तल खसेर दुर्घटना हुदा चालकसहित ३ जना घाइते भएका थिए । घाइते मध्य दिपेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सोही दिन मृत्यु भएको थियो भने सन्दिपलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएकोमा उपचारकै क्रममा नर्सीङहोममा आज बिहान पौने ६ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्काको अहिले तुलसीपुर सिटि हस्पीटलमा उपचार भइरहेको छ ।।