शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न अनुरोध

काठमाडौं, २१ मंसिर ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई पत्र पठाएर मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउनुपर्ने तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

   यसअघि शिक्षा मन्त्रालयले पनि प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्न सबै पालिकालाई पत्र पठाएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकलाई मासिक रूपमा तलब निकासा गर्न पालिकालाई ताकेता गर्दै आएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले लामो समयदेखि मासिक रुपमा तलब पाउने व्यवस्थाको माग गर्दै आएका छन् । कतिपय पालिकाले भने मासिक तलब दिने ब्यवस्था गरेका छन् ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया