काठमाडौं, २१ मंसिर । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेका छन् । मंसिर २८ गते हुने महासंघको महाधिवेशनका लागि अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा कांग्रेस–एमाले निकटले साझा उम्मेदवारी दिएका हुन् । चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको दुबै संगठनले जनाएका छन् । प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति संयोजकमा केसी लामिछानेको उम्मेदवारी परेको छ । यस्तै, युुनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न पदमा अन्य उम्मेदवारी पनि परेको र अहिले नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । दुई संगठनले कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति गरेका छन् । यस्तै जिल्ला शाखामध्ये ४३ शाखाको अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको नेताहरुले बताएका छन् । यस्तै, माओवादी केन्द्र निकट प्रेस सेन्टरले नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसँग गठबन्धन गरी उम्मेदवारी दिएको छ । अध्यक्षमा प्रेस सेन्टरका कमल गिरी, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्टले उम्मेदवारी दिनुभएको छ । लेखा समिति संयोजकमा मणि दाहालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।।