सामाजिक सञ्जालको कुप्रचारले एमालेको चुनावी परिणाम घट्यो : महासचिव पोखरेल

काठमाडौं, १९ मंसिर ।  नेकपा एमालेका महासचिव शंकर पोखरेले सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको एमाले र नेतृत्वविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताउनुभएको हो । महासचिव पोखरेलले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप चुनावी परिणाम आउन नसकेको स्वीकार गर्नुभएको छ ।

राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको भएपनि त्यो पुरा हुन नसकेको उहाँले बताउनुभयो । उहाँले सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको पनि बताउनुभयो । महासचिव पोखरेलले उपनिर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएकोसमेत बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया