सल्यानमा विद्यार्थी लक्षित अपांगता शिविरमा १६८ जनाले सेवा लिए

काठमाण्डौ, १४ मंसिर ।  सल्यानको छत्रेश्वरी गाउँपालिकामा अपांगता भएका विद्यार्थिलाई लक्षित गर्दै शिक्षा, सुरक्षा, र अवसरमा पहुँच बृद्धि गर्ने उद्देश्यले निःशुल्क शिविर संचालन गरिएको छ । दुई स्थानमा शिविर संचालन गर्ने उदेश्य अनुरुप शुक्रवार छायाँक्षेत्र स्वास्थ्य चौकी, भोटेचौरमा शिविर संचालन गरिएको हो । यस शिविरमा १६८ जनाले नाक, कान, घाँटी, मानसिक स्वास्थ्य, हाडजोर्नी र नसा सम्बन्धी स्वास्थ्य जाँच तथा परामर्श सेवा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । जटिल समस्या भएका बिरामीहरूलाई थप उपचारका लागि रिफरको सिफारिस गरिएको छ । शिविर अन्तर्गत भोली शनिबार वडा नम्बर १ स्थित भानुभक्त माध्यमिक विद्यालयमा अपांगता भएका सम्भावित विद्यार्थीहरूको पहिचान, मूल्यांकन र आवश्यक सहयोगका लागि कार्यक्रम सञ्चालन हुनेछ । यस प्रकारका शिविरले बालबालिकाको अपांगता पहिचान, मूल्यांकन र आवश्यकताबारे जानकारी मिल्ने भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बालबालिकाको शारीरिक, मानसिक, र सामाजिक आवश्यकतालाई मध्यनजर गरी उनीहरूको शैक्षिक यात्रा सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छत्रेश्वरी गाउँपालिकाको आयोजना, स्ट्रिट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग र आसमान नेपालको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा विशेषज्ञ डाक्टरहरु इश्वरी खनाल, प्रसान्त पौडेल र क्षितिज सापकोटा सहित स्वास्थ्यकर्मीको टिमले चेकजाँच तथा उपचार गरिरहेको छ । वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो । शिविरमा शिक्षा शाखा प्रमुख केशर वलीले स्वागत मन्तव्य राखेका थिए भने स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । गाउँपालिकाले यस्ता शिविरमार्फत स्थानीयको स्वास्थ्य र शैक्षिक पहुँच बृद्धि गर्दै दीर्घकालीन सुधार गर्ने लक्ष्य राखेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया