उपनिर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं, १४ मंसिर ।  पर्सि आइतवार हुने स्थानीय तहको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार गएराति १२ बजेदेखि नै लागू भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ । पर्सि आइतवार ३३ जिल्लामा ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक÷एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९ सय, महिला मतदाता एक लाख ११ हजार ८ सय ९६ र अन्य मतदाता ३ जना छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित हुनु भएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया