भमके खोलामा पुल निर्माणको काम सुरु

तुलसीपुर १४ मंसिर ।  दाङकाे तुलसीपुर उपमहानगरपालिका – १ को भमके खोलामा पुल निर्माणको काम सुरु गरिएको छ । चार करोड लागतमा तुलसीपुर सुर्खेत सडक खण्डको बौलाह खोला र तुलसीपुर बाघमारे सडक खण्डको भमके खोलामा पुल निर्माण गर्ने ठेगेदार कम्पनीको सम्झौता अनुसार पहिलो चरणमा भमके खोलामा पुल निर्माणको काम सुरु गरिएको छ ।

निर्माण गर्न थालिएको भमके खोला पुलको लम्बाई साढे १७ मिटर र चौडाई १० मिटर रहेको आयोजनाका इन्जिनियर सरोज डाँगीले जानकारी दिनुभयो । २०८२ जेठ २४ गते निर्माण कार्य पुर गर्ने गरि श्री सारदा निर्माण सेवा प्रालिले २०८१ जेठ २४ गते सडक पूर्वाधार विकास कार्यालय दाङसंग सम्झौता गरेको थियो । दुईवटा पुल निर्माणका लागि भ्याट सहित ४ करोड २५ लाख २७ हजार ८ सय ९३ रुपैयाँ २६ पैसामा सम्झौता भएको इन्जिनियर डाँगीले बताउनुभयो ।

निर्माणको कामलाई तिव्र गतिमा अघि बढाएको निर्माण कम्पनिले तोकेको समय भन्दा अगाबैै निर्माणको काम सम्पन्न गर्ने बताएको छ । तर स्रोत सुनिश्चितता डेढ करोड मात्रै भएकाले चालु आर्थिक वर्षमा बौलाह खोलाको पुलको निर्माण कार्य अघि बढ्ने सम्भावना कम रहेको निर्माण व्यवसायी गेहेन्द्र गिरीले बताउनुभयो । ४ करोडको सम्झौता भएपनि स्रोत सुनिश्चितता भने डेढ करोड मात्रै रहेको छ । यद्यपी काम भने निरन्तर रुपमा अघि बढाइएको छ ।

पुल निर्माण हुने भएपछि स्थानीय खुशी
पुल निर्मणको काम अघि बढेपछि स्थानीयहरु खुशी भएका छन् । वर्षौदेखी जोखिम मोलेर खोला तर्न बाध्य स्थानीयहरु निर्माणको काम अघि बढेपछि खुशी भएका हुन् ।पुल निर्माण भएमा बाघमारे सडकमा यात्रा गर्ने हजारौ नागरिकहरु लाभान्वित हुने छन् । दैनिक दर्जनौ सवारी साधन ओहरदोहर गर्ने उक्त सडकमा पुल निर्माण नहुँदा वर्षातको समयमा जोखिम मोलेर खोला वार पार गर्न नागरिकहरु बाध्य छन् ।

‘अन्य समय त खोला आउँदैन । बर्खामा उर्लेर आउने भएकाले खोला तर्न नसकेर गाडी र मान्छेहरु वारको पार हुन्छन् । धेरै पटक गाडी र अटो पल्टाएको छ । मान्छे पनि बगाएको छ । हामीहरुको त घर वारी भयो खेत पारी छ । गाइ गोरु लगेर जाँदा पनि धेरै समस्या छ । ठाउँ ठाउँका खोलामा पुल बनि सके यो खोलामा किन पुल बन्दैन भन्ने लाग्थ्यो । तर पुल बन्न लागेको देखेर हामी खुशी छौ ।’ स्थानीय शिवहरी भण्डारीले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया