तुलसीपुर स्थित राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस

 राप्ती बबइ क्यापसलाई आंगिक बनाउनु पर्नेमा जोड

तुलसीपुुर, १२ मंसिर । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस तथा १९ औँ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूर्व सिंचाई मन्त्री तथा प्रतिनिधि सभाका सांसद दिपक गिरीले बबई क्याम्पस रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताउनु भयो । उहाँले मध्यपश्चिमको क्यू एए प्राप्त क्याम्पसले आफ्नो नाममा जग्गा ल्याउन नसक्नु लज्जासपद् रहेकाले यसका लागि अव सबै जना लाग्नु पर्ने बताउनु भयो ।

उहाँले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गर्दैे आस्थाका आधारमा राजनीति गर्दा शैक्षिक क्षेत्रको गुणस्तर घट्ने भएकाले यस क्षेत्रमा राजनीति निषेध गर्नुपर्ने बताउनुभयो । पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा रहेको राप्ती बबई क्याम्पसको विकासमा आफ्नोसहित धेरै व्यक्तित्वहरूको योगदान रहेको उल्लेख गर्दै गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण ९क्यूएए० प्राप्त गराउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो । क्याम्पसका प्राध्यापकहरूलाई विशेष धन्यवाद दिँदै यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने पहलमा आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले राप्ती बबई क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरु रोजगार खोज्दै जाने नभएर रोजगारी दिने विद्यार्थी उत्पादन गर्नु पर्ने बताउनु भयो । उहाँले क्याम्पसले उद्यमशील जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । क्याम्पसको गुणस्तर वृद्धिका लागि राजनीतिक पहल गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैं तयार रहेको बताउनुभयो । उहाँले समयअनुसार नयाँ विषयका कक्षाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्याम्पसको भौतिक संरचनाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले राप्ती बबई क्याम्पसले शैक्षिक, भौतिक, आर्थिक, र नीतिगत उपलब्धिहरू हासिल गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, क्याम्पसका पूर्व अध्यक्ष मान बहादुर डाँगी, नेकपा एमाले दाङका सचिव श्याम डाँगीले क्याम्पस भौतिक र शैक्षिक क्षेत्रमा अगाडि बढे पनि प्राविधिक धारका कक्षा संचालन गर्न आवश्यक रहेको बताएका छन् । आंगिक क्याम्पस बनाउनु पर्नेमा उहाँहरुको जोड रहेको छ । यस्तै कार्यक्रममा अक्ष्ययकोष स्थापना गर्ने बलदेव शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा, नेकपा एकिकृत समाजवादीका सचिव गीर बहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए । क्याम्पस संचालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिनराज वली र सहजीकरण रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया