मावि अश्वारा गैर अभिभावकको कब्जामा हुँदा विद्यार्थीको पढाइ प्रभावित

तुलसीपुर, १० मंसिर । माध्यामिक विद्यालय अश्वारामा गणित विषयको पढाइ नभएको ४ महिना भयो । विद्यालयका गणित विषयका शिक्षक तथा प्रअ हिरालाल न्यौपानेको मिति २०८१ असार २३ गते सरुवा भएपछि रिक्त पदमा तुलसीपुर–१९ मा रहेको माध्यामिक विद्यालय भित्रीसक्रामका गणित विषयका शिक्षक डिल्लीबहादुर खत्री आउनुभयो । अभिभावक, शिक्षकको निरन्तरको खबरदारी र संचार माध्यममा प्रकाशित समाचारको दबाबपछि तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा महाशाखाले खत्रीलाई मावि अश्वारामा पठाएको थियो ।

२०८१ असोज १२ गते तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय र नगर शिक्षा समितिको मिति २०८१ कात्तिक ५ गतेको दरवन्दी मिलानको निर्णय अनुसार शिक्षक खत्री कात्तिक २९ गते सरुवाको पत्र लिएर मावि अश्वारामा जानुभयो । तर विद्यालयका प्रअ शिवप्रसाद लामीछानेले रमाना पत्र नभएको भन्दै फिर्ता पठाइदिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहको परामर्शमा फिर्ता पठाएका शिक्षक खत्रीलाई प्रअ लामीछानेले मंसिर ९ गते आइतबार बोलाउनुभयो । सोही बमोजिम खत्री रमानापत्र लिएर फेरि विद्यालय जानुभयो । तर हिजो र आज पनि हाजिर लगाउन दिइएन ।

‘म विद्यार्थीलाई पढाउँदै गर्छु । पढाइ नभएको महिनौ भइसकेको छ । तपाइहरु शिक्षाशाखासंग सल्लाह गर्दैगर्नुस । सल्लाह नमिल्दासम्म म हाजिर लगाउँदैन । हजुरहरुको सहमति भएन भने कार्यालयले जहाँ खटाउँछ म त्यही जान्छु भन्दा पनि उहाँहरुले मान्नुभएन ।’ शिक्षक खत्रीले भन्नुभयो । विद्यालयले हाजिर र पढाउन नदिएपछि खत्री दिनभरी विद्यालयको चौरमा बसेर फर्किने गर्नुभएको छ ।

अभिभावकको आक्रोश : छोराछोरीको भविष्य बिग्रने भयो
यता अभिभावकहरुले गैर अभिभावको कब्जामा विद्यालय भएका कारण आफ्ना छोराछोरीको भविष्य अन्यौलमा पर्ने संभावना रहेको बताएका छन् । विद्यालय प्रशासन र व्यवस्थापन समितिले शिक्ष ऐन अनुसार सशक्त रुपमा आफ्नो भूमिका देखाउन नसक्दा विद्यालय लथालिङ्ग हुने अवस्थामा पुगेको उनिहरुले गुनासो गरे ।

‘विद्यालयका अध्यक्ष र प्रअका छोराछोरीले विद्यालयमा पढ्दैनन् । त्यहाँ पढ्ने भनेको हामीजस्तै गरिब विपन्नन वर्गका छोराछोरीले हो । विग्रीए तिनै गरिबका छोराछोरीको भविष्य विग्रने हो । माष्टरको जागिर पाकेकै छ । अध्यक्षको पद छदैँछ । उनिहरुलाई के को चासो ।’ अभिभावक रेवत खत्रीले भन्नुभयो ।  विद्यालायलाई राजनीतिक क्रीडास्थल बनाउँदा मावि अश्वारामा अध्ययनरत झण्डै एकसय जना विद्यार्थीको एसईई परीक्षा प्रभावित हुने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
‘विद्यालयमा माष्टर किन आएनन । किन दरवन्दी कटौतीभयो । चासो पनि गर्नुछैन । सम्बिन्धत निकायमा गएर छलफल गर्नुपनि छैन । पढाउन आएका मास्टरलाई विद्यार्थी पढाउन दिनुपनि छैन । खबरदार हाम्रा विद्यार्थीको भविष्यमाथि खेलबाड नगर यदि ग¥यौ भने त्यसको जावाफ देही विव्यसका अध्यक्ष र हेडमास्टर हुनुपर्छ ।’ अभिभावक मान बहादुर वलीले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाहका कुनै पनि छोरा छोरी र नातीनतिनाले समेत मावि अश्वरामा पढ्दैनन् । तर उहाँ दानदाताको बाटोबाट विद्यालयमा पस्नु भएको हो । विव्यसको काम, कर्तव्य र अधिकार क्षेत्र अनुसार विद्यायको समग्र विकासका लागि रणनीतिक योजना बनाउने, वडा, पालिका, प्रदेश र संघिय सरकारमा गएर समस्या प्रस्तुत गर्ने, आवश्यक बजेटका लागि नेताहरुसंग छलफल गर्ने स्वभाव अध्यक्ष शाहको छैन् । जसका कारण विद्यालय झनपछि झन समस्या पर्ने आँकलन गर्न थालिएको छ । चौतर्फी दवावमा ७ महिनापछि नेपाली विषयका शिक्षक पाएको मावि तहका विद्यार्थीहरु ४ महिनापछि आएका गणित विषयका शिक्षकलाई विव्यस अध्यक्ष र प्रअले प्रतिशोतका आधारमा हाजिर हुन नदिएपछि थप चिन्चित बनेका छन् ।

के भन्छन अध्यक्ष र प्रअ  ?

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहले विद्यालयको सहमतिबीना शिक्षक पठाएकाले हाजिर गर्न नदिएको बताउनुभयो । ‘तीनचार महिना त विद्यार्थीले पढ्न पाएनन भने अब दुईचार दिन नपढ्दा केही हुँदैन । विद्यालयलाई डम्पिकसाइड बनाउन दिइदैन । कहिले शिक्षक लग्ने कहिले पठाउने यो मनपरी गर्न पाईदैन । मेयर र हाकीमसंग बसेर सल्लाह गरेपछि मात्रै कुरा हुन्छ ।’ अध्यक्ष शाहले भन्नुभयो ।

गएको असोज महिनामा मावि दमारगाउँबाट सरुवा भएर आउनु भएका नेपाली विषयका शिक्षक निमकान्त रेग्मीलाई प्रअको अधिकार भन्दै विव्यसलाई नसोधेर हाजिर गराएका प्रअ लामीछानेले अहिले त्यसैगरी आएका शिक्षकलाई हाजिर नगराएपछि उनिमाथि अभिभावकहरुले संकाको दृष्टिकोणले हेर्न थालेका छन् ।

कर्मचारी शिक्षकलाई प्रअले हाजिर लगाउन सक्ने कानुनी व्यवस्था भएपनि विद्यालय व्यवस्थापन समिति अध्यक्षको आज्ञा पर्खेर बस्नुले प्रअ लामीछानेले विद्यालयलाई कता लैजादै छन भन्ने कुराले संका पैदा गरेको हो ।

हाजिर गर्न नदिए  दरवन्दी कटौती गछौं : शिक्षा महाशाखा

यता तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले शिक्षकलाई हाजिर गर्न नदिए दरवन्दी कटौति गरेर खाली भएको ठाउँमा पठाउने चेतावनी दिएको छ ।

‘त्यो विद्यालयमा यस्तै विवाद भइरहन्छ । पहिला पनि पठाएको शिक्षकलाई ७ दिनपछि हाजिर गराएका हुन । अहिले पनि त्यस्तै समस्या देखिएको छ । विद्यालयको आवश्यकता अनुसार शिक्षक पठाएको हो । उहाँहरुलाई शिक्षक चाहिन्न भनेपछि त्यहाँको दरवन्दी कटौति गरेर खाली भएको ठाउँमा शिक्षक पठाउँछौ ।’ शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया