स्याउको बजारीकरणमा सघाउन किसानको आग्रह

जुम्ला, ९ मंसिर ।  जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्लाको स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् । स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई उनीहरुले आग्रह गरेका हुन् । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको गुनासो छ ।

प्रदेश प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्ग कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने उनीहरुको माग छ । मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालू आर्थिक वर्षमा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया