वायु प्रदूषण कसरी नापिन्छ, यसबाट कस्ता रोग लाग्छन् ?

बीबीसी, ३० कात्तिक । भारतको राजधानी दिल्ली र नजिक रहेका अन्य सहरमा प्रदूषणको तह विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तोकेको सुरक्षित मात्राभन्दा ३० देखि ३५ गुना बढेको छ। त्यहाँ केही सातादेखि विषाक्त वायु फैलिएको छ र तुँवालोका कारण नजिकैको वस्तु पनि नदेखिने अवस्था उत्पन्न भएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्षबाट खिचेका तस्बिरमा उत्तर भारत र छिमेकी पाकिस्तानमाथि बाक्लो तुवाँलो देखिन्छ। तुवाँलोका कारण उडानहरू स्थगित भएका छन् वा तिनमा विलम्ब भएको छ।

’आईक्यूएअर’ भनिने स्विट्जरल्यान्डमा रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने समूहका अनुसार सन् २०२३ मा दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको थियो। भारत विश्वको तेस्रो अतिप्रदूषित देश थियो। बाङ्ग्लादेश र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा थिए।

बर्सेनि अक्टोबरदेखि ज्यानुअरीसम्म हिउँदका महिनामा भारतमा न्यून तापक्रम, धुवाँ, धुलो, सुस्त गतिको वायु, सवारीसाधनबाट निस्किने ग्यास र बालीनालीका खोस्टा चलाउने चलनका कारण प्रदूषण ह्वात्तै बढ्छ। भारतको अवस्था निकै गम्भीर भए पनि यो त्यहाँ मात्र सीमित छैन। डब्ल्यूएचओका अनुसार संसारको ९९ प्रतिशत जनसङ्ख्या कम गुणस्तरको वायुमा सास फेर्न बाध्य छ। निम्न र मध्यम आय भएका देशका मानिसहरू त्यसबाट बढी प्रभावित छन्।  उक्त राष्ट्रसङ्घीय निकायका अनुसार बर्सेनि वायु प्रदूषणका कारण ७० लाख जनाको अकालमृत्यु हुन्छ।

वायु प्रदूषणको मापन कसरी हुन्छ‍ ?
वायुमा प्रदूषण गर्ने तत्त्वहरू मान्छेका गतिविधिबाट उत्पन्न हुन्छन्। सवारीसाधन चलाउन र खाना पकाउन प्रयोग गरिने जीवाश्म इन्धनबाट, धूलोयुक्त आँधी, डढेलो र ज्वालामुखीबाट पनि ती तत्त्व वायुमण्डलमा निस्किन्छन्। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)का अनुसार वायुको गुणस्तर गर्ने उपकरणहरूमा निश्चित खालका प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ।

केहीले लेजर प्रयोग गर्दै ’पार्टिक्युलेट म्याटर’ भनिने सूक्ष्म तत्त्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन्। पीएम२.५, पीएम१०, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड मानवको र वातावरणीय स्वास्थ्यमा प्रभाव पार्ने प्रदूषक तत्त्व हुन्। पीएम२.५ को आकार २.५ माइक्रोमिटर वा त्यसभन्दा कम हुन्छ। सूक्ष्म हुने भएकाले यसबाट स्वास्थ्यमा सबैभन्दा उच्च जोखिम रहन्छ। त्यस्ता सूक्ष्म कणहरू हाम्रो रक्तप्रवाहमा पुग्दै विभिन्न रोगको कारक बन्न सक्छन्।

वायुको गुणस्तर देखाउने ग्राफिक
एक्यूआई सूचकाङ्क प्रयोग गरी वायुमा यी पाँच मुख्य तत्त्वको मात्रा नापिन्छ।

एक्यूआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५०० हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने सङ्केत गर्छ। एक्यूआईले हाम्रो वायु कति स्वच्छ वा प्रदूषित छ भन्ने अनि त्यसबाट स्वास्थ्यमा दुष्प्रभाव पर्ने सम्भावना देखाउँछ। प्रदूषित वायुमा सास फेरेको केही घण्टा वा दिनमै त्यसको प्रभाव महसुस हुन थाल्छ।

“एक्यूआई वायुको गुणस्तरसम्बन्धी जटिल डेटालाई जनस्वास्थ रक्षा गर्न मिल्ने गरी कार्यात्मक सूचनामा ढालिदिने एउटा साधन हो,“ आईक्यूएअरका प्रवक्ता आर्मन आररेडिअनले भने।

वायु प्रदूषण धूमपानभन्दा खतरनाक

आईक्यूएअरका अनुसार बुधवार बिहान दिल्लीका कैयौँ भागमा उक्त सूचकाङ्क ५०० पुगेको थियो। नोयडा र गुडगाउँजस्ता सहरमा पनि एक्यूआईको मान ५०० नजिक पुगेको थियो। यूएनईपीले सन् २०२१ मा प्रकाशन गरेको एउटा प्रतिवेदनका अनुसार ३७ प्रतिशत देशमा वायु गुणस्तरको निगरानी गर्नुपर्ने बाध्यात्मक प्रावधान छैन। विज्ञहरू अन्य कैयौँ देशमा निगरानीको गतिप्रति चिन्तित छन्। “सरकारले निगरानीलाई बाध्यात्मक आवश्यकता मान्ने गरी कानुन बनाउनुपर्छ र स्पष्ट डेटाका लागि हाल उपलब्ध पूर्वाधारमा लगानी गर्नुपर्छ,“ यूएनईपी भन्छ।

वायु प्रदूषणबाट कस्ताकस्ता रोग लाग्छन् ?
डब्ल्यूएचओका अनुसार वायुमा हुने ’पार्टिक्युलेट म्याटर’ र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ। त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया