सल्यानको छत्रेश्वरीले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

सल्यान, २३ कार्तिक ।  सल्यानको छत्रेश्वरी गाउँपालिकाले गत आर्थिक वर्षदेखि वडाबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएपछि लाभग्राहीलाई सहजता र सुविधा प्राप्त भएको छ । स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ताका कार्यक्रमलाई कार्यान्वयन गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा प्रायः लामो दूरीको कस्टकर यात्रा गर्नुपर्ने, बैंमा धेरै समयसम्म लाइनमा बस्नुपर्ने जस्ता जटिलताका कारण विशेष गरेर समाजका असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई कठिनाइ भोग्नुपरिरहेको थियो । छत्रेश्वरी गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसंगको सहकार्यमा लाभग्राहीलाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि सहजता थपिएको हो ।

   चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले यहि कार्तिक २७ गतेदेखि मंशिर ३ गते सम्म वडा कार्यालयहरुबाट वितरण गर्नेभएको छ । बैंक र गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ६ वाहेक अन्य वडाहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६० वर्ष माथि जेष्ठ नागरीक दलित, ६८ वर्ष मावि जेष्ठ नागरीक अन्य र पुर्ण अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राही तथा अति अशक्त अपाङ्गता समुह अनुसारका सामाजिक सुरक्षा लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

   वडा–वडामा बैंकिङ प्रविधिबाट भत्ता वितरण गरिरहेको जनाउँदै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले अशक्त, अपांगता भएका नागरिकलाई गाउँपालिकाले सहज सेवा सुविधा दिन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र यस कार्यबाट नागरिकमा स्थानीय सरकारको अनुभूति हुने गरेको जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यक तयारी सहित एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको तालिका सार्वजनिक गरेको छ । जस अनुसार कार्तिक २७ गते छत्रेश्वरी–१ को दमाचौरमा, २८ गते वडा नम्बर २ को दहखोला, २९ गते वडा नम्बर ४ को जयचौर, ३० गते वडा नम्बर ७ को राङ्सीमा, मंशिर २ गते वडा नं ५ को लेखपोखरा र ३ गते वडा नम्बर ३ को मुलखोलामा बैंक सहितको टोलिले भत्ता वितरण गर्नेछ । तोकिए अनुसारको समयमा आ–आफ्नो वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता लिन सम्बन्धित लाभग्राहीलाइ गाउँपालिकाले अनुरोध गरेको छ ।

    भत्ता प्राप्त गर्नका लागि लाभग्राहीले सामाजिक सुरक्षा परिचयपत्र तथा नागरिकता वा मतदाता परिचयपत्रसहित स्वयम उपस्थित हुनुपर्ने गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकामा एक त्रैमासिकमा करिव साढे दुई करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वापत भुक्तानी हुनेगरेको पञ्जीकरण शाखाका नविन चन्दले जानकारी दिनुभयो । बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया