दाङका बजारमा अखाद्य वस्तुहरूको बिक्रीमा तीव्र वृद्धि देखिएको छ । खाद्य सुरक्षा र गुणस्तरमा ध्यान दिनुपर्ने विभिन्न मापदण्डहरूको बावजुद अखाद्य र विषाक्त पदार्थको मिसावट भएका खाद्य वस्तुहरू उपभोक्ताको पहुँचमा आइपुगिरहेका छन् । यस प्रकारका उत्पादनहरूको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाएको छ भने यसले समग्र खाद्य सुरक्षा प्रणालीमा नै प्रश्न उठाएको छ । विशेषतः ठूला बजार र अनुगमन कमजोर हुने स्थानमा यस किसिमका वस्तुहरूको प्रचलन निकै देखिन्छ । उपभोक्ता अधिकारवादीका अनुसार दाल, चामल, बेसार, मसला, तेलमा अखाद्य रङ देखी अखाद्य मिसावट भएको पाइन्छ । त्यसैगरी फलफूल, तरकारीमा अत्यधिक रसायनको प्रयोग, दूधमा पानी र विभिन्न रसायनको प्रयोगलगायतका समस्या सर्वव्यापी हुँदै गएका छन् ।
बजार अनुगमन कर्ताले पसलहरुमा म्याद नाघेका र अखाद्य बस्तु भेटाउँदा समेत कारबाही नगरी बरामद मात्रै गरेर फर्किदा र अनुगमणको पाटोलाई निरन्तरता नदिदा यसको न्युनिकरण हुन सकिरहेको छैन । सस्तोमा बिक्री गर्ने उद्देश्यले व्यापारीहरूले गुणस्तरहीन तथा स्वास्थ्यमा हानि गर्ने वस्तुहरूलाई बजारमा ल्याउँछन्। उपभोक्ताहरू सस्तो मूल्यको लोभमा परेर यस्ता वस्तुहरू खरिद गर्न बाध्य हुने गरेका छन्, जुन पछि गएर स्वास्थ्यको लागि महँगो सावित हुन्छ ।
अखाद्य वस्तुहरूको नियन्त्रणका लागि सरकारले विभिन्न पहलहरू गरे पनि बजार अनुगमन तथा कानुनी कारबाहीमा प्रभावकारिता र निरन्तरता नभएको गुनासो छ । नेपालमा खाद्य तथा उपभोक्ता अधिकार सम्बन्धी कानुन र नियमहरू छन्, तर तिनको कार्यान्वयन भने सन्तोषजनक देखिँदैन । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र स्थानीय निकायहरूले बजार अनुगमनलाई सशक्त बनाउँदै दोषीलाई कडा कारबाहीको नीति लागू गर्नु आवश्यक छ । अन्ततः उपभोक्ताहरूमा जागरूकता अभिवृद्धि गर्दै स्वच्छ र गुणस्तरीय खाद्य वस्तुहरूको खरिद गर्नुपर्ने संस्कारको विकास हुनुपर्छ । उपभोक्ताहरूले आफ्नो स्वास्थ्यप्रति सजग हुँदै खाद्य वस्तुको गुणस्तर जाँच गरी खरिद गर्ने बानी बसालेमा मात्रै अखाद्य वस्तुको समस्या समाधान गर्न सकिन्छ ।