ट्रम्पको विजयीसंगै डलरको मूल्य बढ्दा, नेपाली बजारमा सुनमा भारी गिरावट

बीबीसी, २३ कात्तिक । डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएसँगै बुधवार एकै दिन डलर इन्डेक्स (डीएक्सवाई) करिब १.९ प्रतिशतले बढेर चार महिनायताकै उच्च १०५.३० पुग्यो। नेपालमा शुक्रवार १ डलरको भाउ १३५.३० रुपैयाँ पुगेको राष्ट्र ब्याङ्कले जनाएको छ ।  अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने डीएक्सवाईमा त्यस्तो वृद्धि देखिनुको अर्थ अब डलर खरिद गर्न अझ महँगो पर्छ भन्ने हुन्छ।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेपछि नेपाली बजारमा पनि बिहीवार एकै दिन प्रति तोला करिब चार हजार रुपैयाँले सुनको भाउ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। पछिल्लो चरणमा नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा एकदमै चर्को उतार चढाव देखिँदैछ। नेपाल राष्ट्र ब्याङ्कका एकजना डेपुटी गभर्नर बमबहादुर मिश्रले सुनको मूल्यमा हुने त्यस्तो ठूलो अस्थिरता वा तलमाथिले अर्थतन्त्रमै ’हलचल नभइहाल्ने’ भए पनि प्रकारान्तरले डलरको मूल्य बढ्दा त्यसको प्रभाव आम जनजीवनमा प्रस्ट देखिने गरी हुने बताउँछन्।

मेसिन र अन्य निर्माण सामग्री समेत डलर खर्चेर किन्नुपर्ने अवस्था हुने हुँदा  नेपालमा ठूलो आर्थिक संरचनामा प्रभाव पर्ने बताइन्छ। “नेपालको अर्थतन्त्र तत्काल बलियो हुने छाँटकाँट देखिन्न। बाह्य बजार आफ्नै लयमा वृद्धि भई नै रहेको हुन्छ। त्यसैले यहाँ वृद्धि मात्र भइरहेको अवस्था देखिने गरेको छ,” मिश्र भन्छन्। “पछिल्लो झण्डै चार वर्षमा मात्र करिब १४ रुपैयाँले नेपाली रुपैयाँ डलरसँग कमजोर भएको अवस्था ठूलो हो। पछिल्लो तीन दशकमा नेपालमा तीन गुणाले डलरको भाउ बढेको छ।”

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया