दाङमा ५० करोडको लगानीमा कुखुराको दाना उद्योग सञ्चालनमा

तुलसीपुर ,२२ कात्तिक ।  दाङको घोराहीमा ५० करोड लगानीमा दाना उद्योग सञ्चालनमा आएको छ । कुखुराको दाना उत्पादनका लागि घोराही उपमहानगरपालिका –८ कटुकीमा एकता इन्डस्ट्रिज प्रालि उद्योग सञ्चालनमा आएको हो । भदौ १५ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको उद्योगले दैनिक ३० टन दाना उत्पादन गर्दै आइरहेको इन्डस्ट्रिजका संचालक बुद्ध प्रकाश सिंहले जानकारी दिनुभयो । यस उद्योगबाट उत्पादित एकता पेलेट दाना ब्रोइलर, लेटर्सक्वाइलर कुखुराका लागि प्रयोग हुने गरेको छ । दैनिक ८० टन उत्पादन गर्न सक्ने उद्योगको क्षमता भएपनि पहिलो चरणमा परीक्षण उत्पादन भएकाले ३० टन मात्रै उत्पादन गर्दै आइरहेको सिंहले बताउनुभयो । इन्डस्ट्रिजबाट उत्पादित दाना दाङ सहित सल्यान, रोल्पा, रुकुम, प्युठान, पाल्पा, रूपन्देही र बाँके जिल्लामा खपत हुने गरेको छ ।

निकट भविष्यमा गाई भैंसीका लागि पनि दाना उत्पादन गर्ने उद्योगले तयारी गरेको छ । दाना वितरक, कुखुरा पालक किसान र केही पूर्व राष्ट्र सेवक कर्मचारीसहित २३ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त उद्योगमा २२ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब ३ सय जनाले रोजगार पाएका छन् । दाङमा यो सहित कुखुराका लागि दाना उत्पादन गर्ने उद्योगको सङ्ख्या ४ पुगेको छ ।  कुखुराले खाने एकता पेलेट दानामा मकै, भटमासको पिना, ब्रान, भटमासको कच्चा तेल लगायतका कच्चा पदार्थहरू प्रयोग गर्ने गरिएको उद्योगले बताएको छ । उद्योग सुरु गर्नु पूर्व व्यवसायिक दाना उत्पादन गर्नका लागि दाङमा यसको माग, खपत, बजारीकरण, किसानको अवस्था, मूल्यशृङ्खलाको जोखिम विश्लेषण लगायतका विषयमा सम्भाव्यता अध्ययन गरेकाले उत्पादन र बिक्रीबितरणमा सहजता भएको संचालक सिंहले बताउनुभयो ।

‘उद्योग संचालकमा अधिकांश दाना वितरक अनुभव व्यवसायी हुनुहुन्छ । जसलाई कस्तो खालको दाना उत्पादन गर्दा किसानका कुखुरा छिटो फस्टाउँछन् । स्वस्थ हुन्छन् र मासुका लागि तयार हुन्छन भन्ने कुराको सबै जानकारी छ । जसका कारण बजारमा हाम्रो दानासँग प्रतिस्पर्धा गर्न अन्य उद्योगलाई कठिन परेको छ ।’  संचालक सिंहले भन्नुभयो ।  गुणस्तरीय दानाका कारण सञ्चालनमा आएको छोटो समयमा, उद्योगले बजारमा विस्तारै आफ्नो पकट जमाउँदै जानु उद्योग संचालकका लागि खुशीको कुरा भएको सिंहले बताउनुभयो ।    

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया