सल्यान, ८ कार्तिक । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्यसहित १० जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सल्यानले आज विहिबार सदरमुकाम खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अवसरमा उनीहरुलाई एमालेमा स्वागत गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पार्टी उनीहरुलाई पार्टीमा स्वागत गर्दै राजनीति मात्र नभएर विकास र समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री कँडेलले सल्यानलाई विकास र समृद्धिको नमूना जिल्ला बनाउनका लागि सबै पक्षलाई मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पार्टीमा समाहिर्त हुनेमा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य टोप बहादुर चन्द, जिल्ला कमिटी सदस्यहरू रेमन्त डीसी, छवि केसी र अनेमसंघ जिल्ला कमिटी सदस्य लक्ष्मी सुनार तथा छत्रेश्वरी गाउँपालिका कमिटी सचिव केन्द्रराज बुढाथोकी, गिर्दल डाँगी तथा समाजवादी पार्टीकै हेमबाबु सुनार र रेशम बहादुर चन्द रहेका छन् ।
यसैगरी, राप्रपाबाट चुडामणि विक र निर्मला विकले पनि एमालेमा प्रवेश गरेको एमाले सल्यानका उपसचिव सन्सील्ता वलि डिसीले जानकारी दिनुभयो । एमाले सल्यानले विभिन्न दलबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै भविष्यमा पार्टीलाई सशक्त बनाउने वाचा गरेको छ । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू तथा जिल्ला पार्टीका पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पा वोहराले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्ष र सचिव, जनसंगठनका केन्द्र, प्रदेश, र जिल्ला प्रमुखहरू तथा पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । यो कार्यक्रमले नेकपा एमालेको संगठनात्मक सुदृढीकरणमा थप बल पुगेको र पार्टीमा नयाँ जोश र समर्पण थपिएको एमाले सल्यानले जनाएको छ ।।