काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित पार्टी कार्यालयमलाई प्रहरीले घेराउ गरेको छ । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएसँगै पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेपछि प्रहरीले कार्यालय घेराउ गरेको हो । लामीछानेलाई पक्राउ गर्ने क्रममा संभावित घटना हुन सक्ने भन्दै प्रहरी तैनाथ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ ।
सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर, लामिछाने पक्राउ परेका थिएनन् । अहिले जोशीको बयान समेत लिइसकेको अवस्थामा लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै रास्वपाका समर्थकहरुले रास्वपा कार्यालयमा नारावाजी समेत गरिरहेका छन् ।