दाङका थारु समुदायले मनाए फरकफरक दिनमा डश्या

एकरुपता नहुँदा पहिचान लोप हुनेमा चिन्ता

तुलसीपुर, २८ असोज । यस वर्ष थारु समुदायले फरकफरक दिन दशैँ मनाएका छन् । थारु भाषामा दशैँलाई (डश्या) भनिन्छ । थारु समुदायमा पनि फरकफरक तरिकाले दशैँ अर्थात डश्या मनाइन्छ । सो समुदायमा विभिन्न जात र उनीहरुको थर फरक हुने भएकाले फरकफरक तरिकाले दशैँ मनाइन्छ । दहित थर भएको परिवारमा फरक र अन्य थर भएको परिवारमा फरक तरिकाले दशैँ मनाउने गर्दछन् । थारु भाषामा डश्या र गैर थारु भाषामा दशैँ भन्ने शव्दले अर्थ एउटै दिए पनि यसभित्र गरिने गतिविभि, पूजापाठ फरक हुने गरेको थारु संस्कृतिका जानकार छविलाल कोपिलाले बताउनु भयो । यो समुदायमा दशैँ अवधिभरी नै दशैँ मनाएता पनि विशेष गरी २ दिन अत्यन्तै महत्वपूण हुन्छ ।

पहिलो दिन ढिक्रहवा (डश्या पुज्ने) र दोस्रो दिन घरको कूल देवतालाई बली दिने, पितृहरुलाई सम्झिने । तर यस वर्षको डश्या अर्थात दशैँ पर्व कहिले मनाउने भन्ने विषयमा अन्यौलता भएका कारण फरक फरक दिनमा डश्या पुजेका छन् । प्रकृतिपुजक आदिवासी थारुहरुको उद्गम थलोे तराइ क्षेत्रको दाङ मै पनि फरक फरक दिनमा डश्या पुजेका छन् । दाङको लमही, देउखुरी क्षेत्र लगायत घोराही उपमहानगरपालिका १७ को ढिकपुर, गुलरिया, ओख्रा, दंगीशरण गाउँपालिकाको चखौरा लगायत केही क्षेत्रमा थारु समुदायले २४ गते डश्या पुजेका छन् भने दाङका अन्य ठाउँमा २५ गते ढिक्रहवा अर्थात डश्या पुजेका छन् । यस्तै बर्दिया, कैलाली कंचनपुरमा २४ गते नै पुजेका छन ।

तर दाङमा भने फरकफरक दिन कतै २४ गते र कतै २५ गते डश्या पुजेका छन् । जसका कारण थारु समुदायमाथि नै प्रश्न चिन्ह सिर्जना भएको छ । थारुहरुले गैर थारुको पात्रो अनुसार आफ्ना चाडपर्वलाई परिणत गर्न थालेपछि यस्तो समस्या आएको थारु संस्कृतिका जानकार छविलाल कोपिलाले बताउनुहुन्छ । थारु समुदायमा घटस्थापनाको दिनदेखि सुरु भएर ९ औँ दिन जुन दिन हुन जान्छ त्यही दिन नै डश्या पुज्ने पराम्परा देखिको मान्यता रहेको उहाँले बताउनु भयो । थारु समुदायमा औँशी र पूर्णिमा १५। १५ दिन हुने भएकाले सोही अनुसार हिसाव गरिन्छ तर पछिल्लो समय गैर थारुहरुको तिथि अनुसार थारुहरुको चाडपर्वलाई अगाडि बढाउँदा समस्या सिर्जना भएको उहाँले बताउनु भयो । पहिले पहिले अट्वारीमा विवाद आउने गरेता पनि पछिल्लो समय दशैँमा पनि विवाद आउन थालको भन्दै खासै विवादित बनाउन आवश्यक नरहेको र परम्परादेखिको चलन अनुसार चाडपर्व बनाउनु पर्ने बताउनु भयो ।
यस वर्षको दशैँमा नेपाली पात्रो अनुसार २० र २१ गते दुई दिन चतुर्थी र २५ गते एकैदिन महाअष्टमी र महानवमी परेकाले थारु समुदाय पनि त्यही पात्रोे कै आधारमा दशैँलाई लिएकाले अन्यौलता भएको हो । तर पात्रो हेरेर पनि अन्यौलता हुनुपर्ने आवश्यता नरहेको उहाँले बताउनु भयो । आफ्नो परापूर्वकालदेखि चल्दै आएको विधिविधान अनुसार २४ गते डश्या पुज्नु पर्ने भएकाले सोही दिन दाङको देउखुरीमा आफूहरुले पुजिएको उहाँको भनाइ छ ।

थारु शल्याणकारिणी सभा दाङले भने यही असोज २२ गतेका दिन विभिन्न थारु अगुवा, गुरुवा, महतवा, बुद्धिजिवीहरुसँग सरसल्लाह गरेर थारु समुदायको ढिक्रहवा अर्थात दशैँ २५ गते मनाउने भनेर विज्ञप्ती जारी ग¥यो । सो विज्ञप्ती जारी भएसँगै थारु समुदायको डश्या कहिले हो त भन्ने विषयले झन धेरै पश्रय पायो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले अष्टमीका दिन विगतमा थारु समुदायले ढिक्रहवा बनाउने भएकाले अगुवाहरुको सरसल्लाहमा नै २५ गते दहितहरु बाहेक थर भएका समुदायले डश्या पुज्ने गरी जिल्लाको तर्फबाट विज्ञप्ती जारी गरिएको बताउनु भयो । र सोही विज्ञप्ती अनुसार दाङमा डश्या पुजेको उहाँको भनाइ छ ।

थारुहरुकोे कलासंस्कृति, भेषभूषा, परम्परादेखि चल्दै आएका रितिरिवाजलाई संरक्षण र जगेर्णा गर्नु थारु कल्याणकारिणी सभाको अधिकार र दायित्व हो । थारुहरुको आवाज बोल्ने साझा संगठनको रुपमा समेत यस सभालाई लिइन्छ । तर यस वर्षको डश्यामा देखिएको विवादले थारु कल्याणकारिणी सभाले जति समुदाय प्रति निभाउनु पर्ने भूमिका हो त्यति निभाउन सकेन कि भन्ने थारु समुदायका अगुवा तथा नागरिकहरुको बुझाई भएको छ । तथापि थारु कल्याणकारिणी सभाले आफ्नो तर्फबाट समस्याको समाधान नखोजेको भने होइन । फरकफरक दिन भन्दा एकै दिन डश्या पुज्नु पर्छ भनेर एकरुपता ल्याउन खाजेको भएता पनि हुन नसकेको स्वीकार गर्दै सभाका अध्यक्ष चौधरीले आगामी दिनमा यो बहसको विषय बनेको र जानकारहरुसँग थप छलफल गर्नुपर्ने आवश्यता रहेको बताउनु भयो ।


यता थारु संस्कृतिका जानकार थारु संस्कृतिविद् अशोक थारुले थारु समुदायमा तिथिलाई मान्यता दिएको आफूले अहिलेसम्म पनि थाहा नपाएको बताउनु भयो । उहाँका अनुसार थारु समुदायको हरेक कामकाज अज¥या (औँशी) र अन्ढ¥या (पूर्णिमा) को आधारमा हरेक गतिविधि चल्ने गरेको छ । संस्कृत भाषाहुँदै नेपाली भाषामा भित्रिएको (आँैशी) जसलाई थारु भाषामा ‘अज¥या’ भनिन्छ भने संस्कृतमा ‘अमावस्या’बाट नेपालीमा ‘पूर्णिमा’ बनेर अनुवाद भएकोमा थारु भाषामा यसलाई ‘अन्ढ¥या’ भनिन्छ । जुन १५ । १५ दिनको हुन्छ । सुर्य अस्ताएपछि देखिने सानो वा ठूलो आकारको जुन देखिएको दिनलाइ अज¥या रात भनिन्छ । औँशी र पूर्णिमाको अवधिमा यस्तो क्रियाकलाप गर्न बन्ने र नबन्ने भन्ने पूर्खौदेखि चलिआएको रिति हो तर पछिल्लो समय थारुहरुको चाडपर्वलाई गैर थारुहरुको चाडपर्वसँग जोडेर तिथिमा परिणत गर्न थालिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुहुन्छ ।

यस्ता विवाद का कारण देखिने समस्याले गर्दा थारुहरुको पहिचान लोप भएर जाने देखिएको उहाँले बताउनु भयो । त्यसैले आफ्नो संस्कृति अनुसार अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । यसरी विवादास्पद कुराहरुमा निर्णय गर्ने अधिकार गाउँको अगुवा, भल्मन्सा तथा महतवालाई हुने भएकाले उनीहरुले गरेको निर्णय नै अन्तिम हुने चलन समेत रहेको उहाँले बताउनु भयो । थारु समुदायका अगुवा, बुद्धिजिवी, थारु संस्कृतिविद्, डेशबन्ढ्या गुर्वा, महतवा, घरगुर्वा, ढर्हेर्या लगायत थारु समुदायका जेष्ठ नागरिकहरुले बृहत रुपमा छलफल गरी एकरुपता ल्याउन आवश्यक रहेको उहाँको धारणा छ । एकातिर आदिवासी थारु भन्ने, कसरी बचाउने हो हाम्रो पहिचान पनि भन्ने अर्कोतिर गैर थारुहरुको पात्रो अनुसार थारु सहुदायको चाडपर्वलाई हेर्ने हो भने हाम्रो पहिचान कहाँ जान्छ भन्ने विषयमा सबै थारु समुदाय नै सचेत बन्नु पर्ने उहाँको भनाइ छ । आगामी दिनमा छलफल र संवाद मार्फत एकरुपता ल्याउनु पर्नेमा उहाँको जोड छ ।।

नोटः माथि राखिएका फोटोहरु थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीको फेसबुव पेजबाट लिइएको हो ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया