दिपक श्रीपाईली
मेरो बुवाका लागि जीवन भनेको सदैव परिवार, संस्कार, र जिम्मेवारी हो । उहाँ आफ्नो कुलको गौरव, पुर्खाले स्थापित गरेको संस्कृति, अनि परिवारको सुखद भविष्यको ख्याल गर्दै निरन्तर श्रम गरिरहनु भएको छ । उहाँको जीवनको मुख्य ध्येय भनेको परिवारलाई सुरक्षित, सुसंस्कृत र सक्षम बनाउनु हो । बुवाको यो अडान, जसमा उहाँ सँधै उभिनु भयो, समयको प्रत्येक मोड झनै महत्वपूर्ण हुँदै आयो। आज उहाँ आफ्ना छोरा दिपेश अर्थात मलाई पनि यिनै संस्कार, जिम्मेवारी, र भरोसाको बागडोर हस्तान्तरण गर्न तयारीमा हुनु हुन्छ ।
यो कथा बुवा दिपक र छोरा दिपेशको जीवनभरको संघर्ष, सीप, र संस्कार हस्तान्तरणको यात्रा हो, जसले समयसँगै आफूलाई नयाँ रुपमा ढाल्दै छ। चाडपर्वको समयमा देखिने अभिभावकीय नेतृत्व, परिवारको खुशी र आवश्यकताको अनुसार गरेका संघर्ष र सन्तानलाई अडिलो पिलरजस्तो आत्मबल दिने प्रयासको अनुभव हो। बुवा दिपकको संघर्ष र जिम्मेवारी बुवाले आफ्नो किशोरावस्थामा नै परिवारको नेतृत्व थाम्नुपर्ने अवस्था आयो। उहाँ आफ्नो परिवार(श्रीमती, २छोरा)लाई लिएर ग्रामीण क्षेत्रमा सानै उमेरमा सर्नु भयो। पुरानो घर, थुप्रै जमिन, र परिवारको सम्हाल्ने जिम्मेवारीले उहाँलाई झन् परिपक्व बनायो। सानै उमेरदेखि उहाँले सिक्नु भयो कि जीवन भनेको सुखसयल भन्दा पनि जिम्मेवारी र कर्तव्य हो।
उहाँले आफ्नो बुवाबाट सिकेका संस्कार, सम्मान, अनि धार्मिक विश्वासलाई कहिल्यै भुल्न सक्नु भएन। हरेक चाडपर्वमा आफ्ना बुवाले गर्ने पूजा, अनुष्ठान, र परिवारको नाम राख्ने परम्परालाई उहाँले आफ्ना हातबाट निभाउनु भयो। चाहे दसैं होस् वा तिहार, उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो, परिवारका सबै सदस्यलाई जोडेर राख्ने प्रयास गर्नु हुन्थ्यो। बुवाको नेतृत्वमा परिवारको एकता बढ्दै गयो।
बुवा–छोराको सम्बन्ध
बुवाका लागि हामी छोराहरू मात्र भविष्यको आधार थिएनौ, बरु सिंगो खानदानको गौरवका उत्तराधिकारी थियौ। खास गरेर म, र माइलो भाइ दिनेश, बाबुको छाँयामा हुर्किएका थियो। बाबुले सधैं हामीलाई आफ्नो जिम्मेवारीबोध गराउँदै हुर्काउनु भयो। उहाँले सधैं मलाई सुनाउँनु हुन्थ्यो—”तिमी यो परिवारको आधार स्तम्भ हौ। हामीले जति दुःख गरेर यो कुललाई यहाँसम्म ल्यायौं, तिमीले अब यो अझै माथि पुर्याउनु पर्छ।” मैले बाल्यकालमा नै यो कुरा बुझ्न थाले। सानैदेखि बुवाको हरेक गतिविधिमा सहभागी हुनु, पूजा अनुष्ठानमा उहाँसँगै रहनु, अनि चाडपर्वको समयमा अग्रसर भएर सहयोग गर्नु मेरो जिम्मेवारी जस्तै भयो। दसैं, तिहार वा अन्य कुनै चाडको बेला बुवाको अगाडि उभिएर आशीर्वाद लिनु मात्र नभई, आशीर्वाद दिन सक्ने उचाईमा पुग्न सिक्नुपर्ने बोध हुन थाल्यो। बुवाले हरेक कदममा मलाई सामाजिक मूल्य र कर्तव्यको महत्त्व सिकाउनु भयो। “संस्कार तिनै हुन् जसले हामीलाई मानिस बनाउँछ। हाम्रो कुलको इज्जत हामीले गरेका कामले चिनिन्छ,” भन्दै उहाँले सधैं सम्झाउँनु हुन्थ्यो। बुवाले चाडपर्वका समयमा निभाउने नेतृत्वको जिम्मेवारी मैले बिस्तारै सिक्दै गए।
संस्कार र संस्कृति हस्तान्तरण
चाडपर्वले परिवारलाई अझै नजिक ल्याउँछ। बुवाका लागि दशैं, तिहार जस्ता पर्व मात्र उत्सव थिएनन्, यसले पुर्खाको विरासतलाई सम्हाल्ने अवसर पनि हो। हरेक वर्ष घरको मठमा पूजा गर्नु, सबैलाई एकत्रित गर्नु, अनि नयाँ पुस्तालाई परिवारका पुराना रीति–रिवाजहरूको महत्त्व बुझाउनु उहाँको दायित्व थियो। मैले बुवाको हातबाट सिकेका यी सबै कुरा जीवनभरका लागि अमूल्य बने। जब बुवा आफ्नो पूजा सकेर टिका लगाउँनु हुन्थ्यो, त्यतिबेला मैले एकदमै गर्व अनुभव गर्थे। बुवाको नजरमा एउटा जिम्मेवारी हस्तान्तरण भइरहेको हुन्थ्यो, जहाँ उहाँले आफ्नो छोरालाई परिवारको मुख्य अंश बनाउन चाहनु हुन्थ्यो। बुवाले हामीलाई धेरै भन्दा धेरै सिकाउनु चाहनु हुन्थ्यो—”हामीले पाएको संस्कार हाम्रो सम्पत्ति हो, जसले हामीलाई हाम्रो पहिचान दिन्छ।” दशैंको बेला आशीर्वाद दिने जिम्मेवारी हस्तान्तरण हुँदा मलाई थाहा भयो कि अब समय आएको छ कि मैले पनि बुवाले जस्तै आफ्नो पिँढीलाई यी रीतिहरू बुझाउनुपर्छ। बुवाको हरेक कदम उहाँको जीवनमा एउटा निर्देशनको रूपमा रहिरह्यो। त्यो निर्देशनलाई मैले पनि अगाडि बढाउनुपर्ने थियो।
परिवारको खुशी र आवश्यकताअनुसारको संघर्ष
बुवा दिपकले आफ्नो जीवनभर कडा मेहनत गर्नुभयो, तर उहाँले यो मेहनत कहिल्यै आफ्नो लागि गर्नुभएन। परिवारको सुखद भविष्य, ३छोराहरूको राम्रो शिक्षा, अनि समाजमा परिवारको सम्मान बचाइराख्नका लागि उहाँले आफ्नो सम्पूर्ण समय र ऊर्जा समर्पित गर्नुभयो।तर बुवालाई यो पनि थाहा थियो कि संघर्ष सधैं स्थायी हुँदैन। समयको गतिसँगै, हरेक पुस्ताले आफ्नो तरिकाले जिन्दगीलाई सामना गर्नुपर्छ। उहाँले मलाई यो कुरा धेरै पटक सम्झाउनु भएको छ—“परिस्थिति बदलिन्छ, तर तिमी बदलिनु हुँदैन। आफ्नो मूल्य र संस्कार कहिल्यै नछोड्नु। कठिनाइ आउँछन्, तर ती त सधैं अस्थायी हुन्छन्। परिवारको खुशीको लागि गर्नुपर्ने संघर्ष कहिल्यै बन्द गर्नु हुँदैन।”मेरा लागि बुवाको संघर्षको कथा सधैं प्रेरणाको श्रोत रह्यो। मैले आफ्नो बुवाको हरेक पीडालाई बुझ्न सकिन होला, तर मैले बुवाले गरेका प्रत्येक प्रयासलाई देखेको थिए। खासगरी, जब घरको आवश्यकता पूरा गर्न बुवा आफूलाई पछि पारेर अगाडि बढेको, मलाई यो कुराले अत्यधिक प्रभाव पारेको थियो।
बाबाछोराको अडिलो पिलरको कथा
बुवा र छोराको सम्बन्ध भनेको कति पिढी बाँच्न सक्ने एउटा अडान हो। बाबू दिपक र छोरा दिपेशको सम्बन्ध पनि त्यस्तै अडिलो पिलरजस्तो थियो। यो पिलरले परिवारलाई नाजुक अवस्थामा उभिन दिने छैन। बुवा दिपकले आफ्नो जिम्मेवारी पूरा गर्दै छोरालाई पनि यो पिलर निर्माण गर्न सिकाउदै हुनु हुन्छ। जब मैले जिम्मेवारी थाम्न सुरु गर्छु, तब बुवाले सन्तुष्ट महसुस गर्नु हुनेछ। यो हस्तान्तरण भनेको सिर्फ आर्थिक वा सामाजिक सम्पत्तिको मात्र थिएन, यो संस्कार, संस्कृति, र मूल्यहरूको हस्तान्तरण थियो। यो हस्तान्तरण भनेको हरेक सन्तानले आफ्नो अभिभावकबाट सिक्नुपर्ने एउटा जीवनचक्र हो। बुवाको हातबाट छोराको हातमा जाने यो यात्रा मात्रै जीवनको सार हो। बुवाले यो हस्तान्तरणको अन्तिम पाइला पुर्याउन सक्दा आफ्नो जीवन सफल भएको महसुस गर्नुहुन्छ।
यो कथा भनेको पिढी पिच्छे जिम्मेवारी र संस्कार हस्तान्तरणको हो। यो हस्तान्तरण मात्र एउटा पुस्ताबाट अर्को पुस्तामा भएको सम्पत्तिको यात्रा होइन, यो जीवनको मूल्य, संस्कार, र कर्तव्यको यात्रा हो। यो कथामा बाबुको संघर्ष, छोराको साहस, र परिवारको निरन्तरता देखिन्छ । अन्ततः, बाबु दिपकले आफ्नो कुल र संस्कारको धरोहर छोरालाई जिम्मा लगाएर आफ्ना जिम्मेवारी पूरा गरेको महसुस गर्नुभयो। मैले बुवाको सम्पूर्ण परिश्रम, संघर्ष, र संस्कारलाई मनन् गर्दै अब आफ्नो पुस्तालाई सही मार्गमा लैजान कटिबद्ध भए।यही नै जीवन हो, जहाँ एक पिढीले अर्को पिढीलाई आफ्नो सम्पूर्ण सिप र सीप हस्तान्तरण गर्छ।।