हाइड्रोलिक सिस्टम फेल भएको एयर इन्डियाको विमान सुरक्षित अवतरण

तमिलनाडु ।  एयर इन्डिया एक्सप्रेसको विमानले  आकस्मिक अवतरण गरेको छ । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको  विमानले शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै हाइड्रोलिक सिस्टम फेल भएको थियो । यसपछि विमान करिब ३ घण्टासम्म आकाशमा घुमिरह्यो । यस पछि, विमान लगभग भारतीय समयअनुसार ८ बजेर १५ मा सुरक्षित अवतरण भयो। भारतको नागरिक उड्डयन मन्त्रालयले स्थितिबारे थप मूल्याङ्कन भइरहेको जानकारी दिएको छ ।

एयर इन्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्य सवार थिए। सिस्टम फेल भएको थाहा पाएलगत्तै विमानस्थलमा आपत्काल घोषणा गरिएको थियो । पाइलट विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका थिए । पाइलटको आकस्मिक सन्देश पाएलगत्तै दमकल र एम्बुलेन्सलाई विमानस्थलमा तैनाथ गरिएको थियो । साथै आकस्मिक उद्धार टोली पनि तयारी अवस्थामा राखिएको थियाे । विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको थियो । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रियाअनुसार विमान अवतरण भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया