
तुलसीपुर, २४ असोज । दाङको तुलसीपुरमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका–६ बागर निवासी ४० वर्षीय निरा बादी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार ८/१० दिन अगाडी श्रीमान–श्रीमतीबिच घरायसी विबाद हुदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आउनुभएको थियो । त्यसपछी यही असोज २२ गते उहाँका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिने भनेर माइती घरमा गएको अवस्था फेरी दुईजनाबिच बादबिवाद भएको हो ।
सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाइते उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सीङ होम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । श्रीमतीमाथी प्रहार गरेको खुर्पा राजकुमार आफ्नै टाउकोमासमेत प्रहार गर्दा गहिरो चोट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।।