यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

काठमाण्डौं, २४ असोज ।  एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु पङ्कजविक्रम शाहले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो । आज बिहानै काठमाण्डौबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो । मौसम खुलेपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज धावनमार्ग पस्दै गर्दा शाहले आपतकालीन ढोका खोलेका थिए ।

त्यसपछि जहाजलाई पार्किङमा फर्काएर जाँच भइरहेको छ । यसअघि यही असोजको १६ र २१ गते पनि यात्रुले विमानका आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएका थिए । आपतकालीन अवस्थाबाहेक अरु समयमा यात्रुले आपतकालीन अर्थात् इमेर्जेन्सी ढोका खोल्न पाइँदैन । हवाई उडानमा बाधा पुर्‍याउने यात्रुलाई एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । आज विनाकारण आपत्कालिन ढोका खोलेका यात्रु पङ्कज शाहलाई प्रहरीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार
प्रतिक्रिया